१० अर्व नाफामा नेपाल आयल निगम, स्वचालित मूल्य प्रणाली लागू भएपछि आम्दानी बढ्यो आन्दोलन हट्यो

२०८१ पुस २६ गते

१० अर्व नाफामा नेपाल आयल निगम, स्वचालित मूल्य प्रणाली लागू भएपछि आम्दानी बढ्यो आन्दोलन हट्यो

काठमाडौं । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले निगम १० अर्ब नाफामा रहेको बताएका छन् । शुक्रबार नेपाल आयल निगम लिमिटेडको ५५ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

समयमा नै अन्तिम लेखा परीक्षण कार्य सम्पन्न गरिएको छ । हामी करिब १० अर्ब नाफामा छौंझ, उनले भने ।त्यस्तै उनले स्वचालित मूल्य प्रणालीले निगमको आर्थिक अवस्था सुदृढ भएको बताए ।

भट्टले भने, 'स्वचालित मूल्य प्रणाली नभएको अवस्थामा मूल्य निर्धारण गर्न कठिन थियो । हरेक पटक मूल्य निर्धारणको समयमा निगम घेराउमा पर्ने गर्दथ्यो । स्कुल कलेज हड्ताल हुन्थे । नेपाल बन्द हुन्थ्यो । सडकमा टायर बालिन्थ्यो । २०७१ सालदेखि स्वचालित मूल्य प्रणालीले निगमको आर्थिक अवस्था सुदृढ भएको छ । पहिलेका समस्याहरूको समाधान गरिएको छ ।'

ढुवानीमा हुने अनियमिततामा समेत कमी आएको उनले दाबी गरे । केही नयाँ कामको पनि थालनी गरिएको समेत उनले जानकारी दिए ।

'सिनामंगल डिपो स्थानान्तरणको काम शुरू भएको छ । पेट्रोलमा इथानोल मिश्रण गर्ने कार्यका लागि कार्यविधि तयार गरेर अन्य कार्य शुरू गरिएको छ । एलपीजीको घरायसी र व्यापारिक फरक मूल्य कायम गर्ने कार्य सुरू गरिएको छ, ' भट्टले भने ।