१९ वर्ष लगाएर सपना साकार गरेका थापा यसरी बने जीपलाइनका पायोनियर

२०८१ मंसिर ०३ गते

१९ वर्ष लगाएर सपना साकार गरेका थापा यसरी बने जीपलाइनका पायोनियर

काठमाडौँ । २०५५ सालतिर मुलुकमा शसस्त्र द्वन्द चरम उत्कर्षमा थियो । चारैतिर माओवादी र सरकारको द्वन्दले भौतिक तथा मानवीय क्षतिको मात्र चर्चा हुन्थ्यो । त्यतिबेला सिन्धुपाल्चोकका केदार थापा भर्खर १५ वर्षका मात्र थिए । भर्खरै जुँगाको रेखी देखिन थालेका थापा १० कक्षामा पढ्दै थिए । एक दिन उनी स्कुलबाट फर्कदा उनको घर विदेशी पहुनाले भरिएका थिए । विदेशी आफ्नो घरमा देखेर उनी एकछिन अचम्ममा परे । अनि मनमनै सोचे, आखिर मेरो घरमा विदेशीहरु किन आएका होलान ? तर उनले ती विदेशीहरुलाई सोधेनन् तिमिहरु मेरो घरमा किन आएको भनेर । विदेशी पाहुना सो दिन उनकै घरमा बसे ।

भोलीपल्ट बिहानै पहुनाहरु भोटेकोशीतर्फ गएको देखेर उनी पनि ती पाहुनालाई पछ्याउँदै गए । त्यसपछि उनले थाहा पाए उनीहरु त भोटेकोशीमा केही बनाउन आएका रहेछन् । थापाले पाहुना सोचेका ती कामदार एकदिन मात्र थापाको घरमा बसेनन् । 'द लास्ट रिसोर्ट एण्ड बन्जी' बनाउन आएका उनीहरु निर्माण कार्य नसकिएसम्म थापाकै घरमा बसे । अनि तिनै कामदारसँगै पछि लागेर द लास्ट रिसोर्ट बनाएको हेर्न जानु उनको दैनिकी जस्तै बन्यो । बडो कौतुहलता र रोचकताका साथ उनीहरुको काम हेर्ने थापा । पछि तिनै कामदारको सहयोगी बनेर काम गर्न थाले । विदेशीहरुसँगै बिहान घरबाट निस्कने, दिनभरी उनीहरुले अह्राएको काम गर्ने र सँगै बेलुकी घर फर्किने थापाको दिनचर्या बन्यो । द लास्ट रिसोर्टसँगै नेपाली व्यवसायीसँग मिलेर विदेशीहरुले नेपालमै नौलो साहसिक पर्यटन बन्जी जम्प सञ्चालनमा ल्याएका थिए । खुट्टामा डोरी बाँधेर माथि पुलबाट तल खोलामा झर्ने खेलले थापालाई चिमोट्न थाल्यो । अनि आफैले आफैलाई भन्न थाले, ‘गर्ने हैन त हिम्मत, बन्ने हैन त साहसिक पर्यटन उद्यमी ?’

एक दिन म पनि यस्तै साहसिक खेल सञ्चालन गर्छु भन्ने सपनाको जग त्यतिबेलै उनको मनमा बसिसकेको थियो । एउटा बालकले देखेको सपना कसले नै पत्याउथ्यो र ? त्यसैले उनले कसैलाई भन्ने हिम्मत नै गरेनन् । अनि बुवाकै व्यापारमा सघाउँदै गए । ज्यान बुवाको ब्यापारमा भएपनि मनमा त्यही साहसिक खेल बनाउने हुटहुटी थियो । जति समय वित्दै गयो सपनाको जग झनै बलियो र नमेटिने बन्दै गयो ।

अनि शुरु भयो पायोनियरको यात्रा ......

मुलुकमा चर्किरहेको द्वन्दका कारण गाउँमा भविष्य नदेखेका उनी साहसिक पर्यटनको हुटहुटी मनमा बोकेर अध्ययनका लागि काठमाडौ हानिए । २०७४ सालसम्म बुवाकै ब्यापारलाई सघाउँदै पनि आए । तर थापालाई साहसिक पर्यटनमै केही फरक गरौँ भन्ने हुटहुटीले छोडेको थिएन । अब भने उनी आफ्नो इच्छामा दृढ भए । द लास्ट रिसोर्ट एण्ड बन्जी बनाउने ती कामदारहरुसँग फेरी उनी जोडिए । उनीहरुलाई आफ्नो परिकल्पना सुनाए ।

फोर्ब्स म्यागजिनले हरेक बर्ष प्रभावशाली यूवा व्यवसायीको सुचि सार्वजनिक गर्दा उनी पनि एकदिन यसै गरी म्यागजिनमा छाउने इच्छा बोक्थे तर त्यसका लागि केही फरक गर्नैपर्ने मानसिकतामा उनी थिए । २०७१ सालमा थाइल्याण्ड, भियतनाम, कम्बोडिया लगायतका देशमा भ्रमण गरेकै बेला थापाले जिपलाइनको परिकल्पना गरिसकेका थिए । तर उनले आफ्नो प्रेरणा भने पोखराको जिपफ्लायरलाई मान्छन् । सोही देखेर उनले जिपलाइन नै बनाउने निर्णय गरे ।

उनीसँग २०५७ सालदेखि गरेको व्यापारबाट भएको आम्दानी, यातायात व्यवसायबाट भएको आम्दानी, ०६१ सालदेखि चाइना व्यापार गर्दा बेलाको बचतले उनलाई जिपलाइनमा हात हाल्ने साहस मिल्योे । उनी भन्छन, ‘मैले धेरै खालका व्यवसाय गरे । उक्त व्यवसायबाट केही आम्दानी गरेको थिएँ सोही कारण आफुसँग पैसा भएपछि चाहेको काम गर्न हिम्मत मिल्ने रहेछ ।’ थापाले भुकम्पपछि प्रि फ्याब हाउस समेत बनाउने काम गरेका छन् । उनी जिपलाइन निर्माणमा हात हाल्दा ३४ वर्षका भइसकेका थिए । १५ वर्षको उमेरमा देखेको सपना उनले बल्ल ३४ वर्षको हुँदा पुरा गरे । साहसिक पर्यटन उद्यमीको जग मनमा हालिसकेका थापाको सपनाको जग कसैले पनि हल्लाउन सकेन अनि बने नेपालमा जिपलाइनका पायोनिर ।

नेपालको भुबनोट र प्रकृति सुहाउँदो जीपलाइन उपयुक्त हुने अठोट गरी नेपालमै पहिलो पटक धुलिखेलमा धुलिखेल जीपलाइन सञ्चालनमा ल्याए । धुलिखेल जीपलाइनमा रमाउने आन्तरिक तथा बाह्य पर्यटकको क्रेजले हौसिएका थापाले गत वर्षको मंसिरमा झण्डै ४ करोड लगानीमा एसियाकै दोस्रो तथा नेपालको पहिलो लामो जीपलाइन नगरकोटमा पनि सञ्चालनमा ल्याएका हुन् । जीपलाइन गर्न आउने पर्यटकहरुलाई बसोबासमा समस्या नहोस् भनेर स्थानीय प्रेम बस्नेतसँग मिलेर उनले जीपलाइनसँगै ४ करोड लगानीमा सुविधासम्पन्न होटल प्रेम दरबार पनि सञ्चालनमा ल्याएका छन् । तत्कालिन पर्यटनमन्त्री सुदन किरातीले उद्घाटन गरेको नगरकोट जीपलाइनमा पछिल्लो समय आन्तरिकसँगै बाह्य पर्यटकको आकर्षण बढेको छ । जीपलाइनका लागि जो कोहीले जस्तो सहयोग माग गरेपनि जहाँ पनि पुग्न भ्याउँछन् केदार थापा । उनले हालसम्म ‘चन्द्रागिरि हिल्स, बुटवल केवलकार, पाइलटबाबा, त्रिशुली फन्ट रिसोर्ट, भेडेटार, मकवानपुर र कुलेखानी जिपलाइन जडानमा प्राविधिक तथा परामर्श सहयोग गरेको अनुभव सुनाउँछन् ।

प्रकृतिले भरपुर साथ दिएको सुन्दर देशमा नयाँ नयाँ पर्यकटीय आयाम थपिरहन चाहन्छन् साहसिक पर्यटन उद्यमि थापा । कतिपय गन्तब्यमा बाटो अवरुद्ध हुँदा आफू र पर्यटक पुग्न नसकेको तितो अनुभव सुनाउँदै थापा राज्यसँग गुनासो गर्छन् । उनी भन्छन, ‘भौतिक संरचना निर्माणमा सरकारले सहयोग गरिदिए अझै म जस्ता धेरै पर्यटन उद्यमी जन्मन्छन् ।’

कति लाग्छ शुल्क ?

भक्तपुरबाट ८ किलोमिटरको दुरीमा रहेको र काठमाडौँबाट २० किलामिटर दुरीमा रहेको नगरकोट जीपलाइन कुल २२५० मिटरको रहेको छ जुन चांगुनारायण नगरपालिका वडा नम्बर ६ र ७ मा खेलिन्छ । जीपलाइन खेल्न जानेहरू वडा नम्बर ७ बाट टेकअफ गरेर वडा नम्बर ६ को लामाटोलमा ल्याण्ड हुन्छन् । टेकअफ पोइन्टबाट ल्यान्डिङसम्म २ मिनेटको समय अवधिमा आकाशमा चराजस्तै उडेर जीपलाइनको मजा लिन सकिनेछ । हाल यहाँ क्लासिक र सिंगल सुपरम्यान जीपलाइन गर्न सकिनेछ । टिकटको मूल्य प्रति व्यक्ती ४ हजार ५ सय रुपैयाँ रहेको छ । विदेशीका लागि प्रति व्यक्ति ५० डलर रहेको छ । सञ्चालक थापाका अनुसार अहिले होटल बसाई र जीपलाइनमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । धुलिखेलमा रहेको जीपलाइन छोटो दुरीको भएको जम्मा ४० सेकेण्डमा पार गरिसकिने हुँदा धेरैजसो पर्यटकले छोटो भएको गुनासो गरेपछि त्यसलाई सम्बोधन गर्न नगरकोटमा लामो दुरीको जीपलाइन निर्माण गरिएको थापा बताउँछन् ।

कपल सुपरम्यान जीपलाइन ल्याउने तयारी

जीपलाइनका पायोनियर बनेका केदार थापाले नगरकोट जिपलाइनमा क्लासिक र सिंगल सुपरम्यान जीपलाइनसँगै कपल सुपरम्यान जीपलाइन भित्र्याउने तयारी गरेका छन् । जिपलाइन गर्न आउने धेरैले अन्य विदेशी मुलुकमा जस्तो एकै पटक जोडीले गर्न मिल्ने जीपलाइन ल्याउन सुझाएपछि उनले नयाँ प्रोडक्ट थप्न लागेका हुन् । जोडी भएर जीपलाइन गर्दा ६ हजार शुल्क लाग्ने छ । डोरीमा घोप्टिएर दुई जना एकैपटक हावामा उँड्न सक्ने हुँदा अझ यसले आकर्षण थप्ने सञ्चालक थापाको भनाई छ । पर्यटकीय केन्द्र नगरकोटमा जिपलाइन गर्दै गर्दा रानीझुला, बझिनी ड्यामको अवलोकन गर्न सकिनेछ ।

सुरक्षा मापदण्ड के छ ? एक वर्ष अघि सञ्चालनमा आएको नगरकोट जीपलाइनमा सुरक्षाको मापदण्ड कायम गरिएको छ । जीपलाइन गर्नेहरुलाई ३ फरक फरक पेटीमा सुरक्षित तवरले कसिन्छ । व्यक्ति सुरक्षाको हिसावले १० लाखको दरले बीमा समेत गरिएको सञ्चालक थापा बताउँछन् । जीपलाइन गर्दै गर्दा बीच बाटोमा रोकिए टेकअफ र ल्याण्डिङ दुवै साइडमा रहेका रेस्क्यू टोलीले उद्दार गर्ने व्यवस्था मिलाइएको छ । साहसिक जीपलाइन खेलको बिस्तारमा लागेका थापा आफ्नो अनुभवमा जीपलाइनमा दुर्घटनाको जोखिम अत्यन्त न्यून रहेको बताउँछन् ।