आज बजारबाट एक खर्ब तान्दै राष्ट्र बैंक

२०८१ कात्तिक २१ गते

आज बजारबाट एक खर्ब तान्दै राष्ट्र बैंक

काठमाडौ । नेपाल राष्ट्र बैंकले बजारबाट एक खर्ब (१०० अर्ब) रुपैयाँ तान्ने भएको छ । केन्द्रिय बैंकले निक्षेप संकलन उपकरण मार्फत उक्त रकम तान्न लागेको हो । केन्द्रिय बैंकमा निक्षेप राख्न चाहने बैंक तथा वित्तिय संस्थाले आज २ बजेसम्म बोलकबोल गर्न सक्नेछन् । यो निक्षेपको साँवा तथा ब्याज भुक्तानी मंसिर १२ गते हुनेछ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोल कबोल गर्न सकिनेछ ।

निक्षेप संकलन उपकरणकोबोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म कबोल गर्न पाइने केन्द्रिय बैंकले जनाएको छ । यो निक्षेप केन्द्रिय बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा समेत प्रयोग गर्न सकिने छ । निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिने केन्द्रिय बैंकले भनेको छ । यदि बोलपत्र स्वीकृत भएका काउण्टरपार्टीको खातामा सो उपकरण निष्काशन गरिने दिनमा मौज्दात पर्याप्त नभएमा त्यस्ता काउण्टरपार्टीलाई कालोसूचीमा राखी पछिल्ला बोलकबोलमा सहभागी हुन बन्देज लगाइने केन्द्रिय बैंकले जनाएको छ ।