अख्तियारद्वारा मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८१ असार ०९ गते

अख्तियारद्वारा मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । मुख्यसचिव वैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको आरोपमा मुख्यसचिव अर्यालसहित १२ जनालाई प्रतिवादी बनाएर आज आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनीहरूविरुद्ध कुल ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बराबरको बिगो दाबी कायम गरिएको छ ।

मुख्यसचिव अर्यालसँगै अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, भन्सार विभागका उपमहानिर्देशक टंकप्रसाद पाण्डे र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई पनि प्रतिवादी बनाइएको छ ।

त्यस्तै आन्तरिक राजस्व विभाग लाजिम्पाटमा कार्यरत उपसचिव गणेश विक्रम शाही, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, आन्तरिक राजस्व विभाग लाजिम्पाटका शाखा अधिकृत रविन्द्रप्रसाद पौडेल, सुरक्षण मुद्रण केन्द्र काठमाडौंका तत्कालीन लेखा अधिकृत विष्णुप्रसाद गौतम, तत्कालीन शाखा अधिकृत हरिबल्लभ घिमिरे, सुरक्षण मुद्रण केन्द्रका खरिद परामर्शदाता शक्तिप्रसाद श्रेष्ठ, प्रिन्ट सेल प्रालि ललितपुरका निर्देशक केशव शर्मा र प्रिन्ट सेल प्रालि कम्पनीलाई प्रतिवादी बनाई मुद्धा दायर गरिएको छ।