बडा दशैको पाचौं दिन, स्कन्दमाता भगवतीको पूजा आराधना गरिँदै

२०८० कात्तिक ०२ गते

बडा दशैको पाचौं दिन, स्कन्दमाता भगवतीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको पाचौं दिन आज दुर्गा भवानीको पाचौँ शक्तिका रूपमा प्रादुर्भाव भएकी स्कन्दमाता भगवतीको पूजाआराधना गरिँदैछ । कमलको फूल आसन भएकी, सेतो वर्ण, चार हात भएकी भगवान स्कन्दकुमार कार्तिकेयको वालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले यिनलाई स्कन्दमाता नामबाट पुकार्ने गरिन्छ ।

यिनका चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्ममासनसहित सिंहमा सवार रहन्छिन् । सूर्यमण्डलकी अधिष्ठात्री देवी भएकाले यिनको पूजाआजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुने विश्वास गरिन्छ ।आज देशैभरका भगवती र देवीका शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको छ ।