२०८० पुस १३ गते
काठमाडौं । भौतिक,पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी पछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन बालकुमारीमा प्रहरीले चलाएको गोली लागेर एकजना प्रदर्शनकारीको मृत्यु भएको छ। गोली लागेर घाइते भएका दैलेखका सुजन राउतको उपचारका क्रममा किष्ट अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ। राउत दैलेख महावु ६ का स्थानीय हुन्।
त्यसैगरी झडपमा अर्का एकजना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा डोटीका वीरेन्द्र शाह रहेका छन्। अन्य आधा दर्जन बढी पनि घाइते भएको प्रहरी प्रवक्ता कुवेर सिंह कडायतले जानकारी दिएका छन्। उनीहरूको पाटन र किष्ट अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले स्थिति सामान्य बनाउन केही सेल अश्रुग्यास र गोली प्रहार गरेको थियो।
शु्क्रबार अपरान्ह मन्त्री ज्वाला सवार गाडीमा कोरियन भाषा परीक्षाको विषयलाई लिएर विरोध प्रदर्शनमा उत्रिएका युवाहरूले आगजनी गरेका थिए। आगजनीका कारण मन्त्री ज्वाला सवार बा २ झ ५८६१ नम्बरको गाडी पूर्णरुपमा नष्ट भएको छ ।
प्रदर्शनकारीहरूले केहि सार्वजनिक सवारी साधनमा समेत तोडफोड गरेका छन् । गाडीमा आगजनी गर्ने केहि प्रदर्शनकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रदर्शनका क्रममा केहिबेर प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो।
प्रतिक्रिया