२०८० माघ ०८ गते
काठमाडौं । भारतको अयोध्यामा राम मन्दिरमा प्राण प्रतिष्ठा गरिएको छ। पाँच सय वर्षपछि भगवान रामलाई दिव्य मन्दिरमा प्रवेश गराइएको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष पूजा गरेर भगवान रामलाई मन्दिरमा प्रवेश गराएका हुन्। प्राण प्रतिष्ठा समारोहमा प्रधानमन्त्री मोदीसहित, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, बलिउडका अभिनेतारअभिनेत्री, व्यपारी र सन्तमहाजनहरूको उपस्थिति रहेको थियो। अयोध्यालाई हजारौं क्विन्टल फूलले सजाइएको भारतीय सञ्चारमाध्यहरूले उल्लेख गरेका छन्।
प्राण प्रतिष्ठा समारोहमा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले भगवान राम अब टेन्टमा नबस्ने बताए। उनले राम दिव्य मन्दिरमा बस्ने बताएका थिए। 'सदियौंदेखिको पर्खाइबाट रामले मन्दिर पाएका छन्। यो क्षण अलौकिक र पवित्र छ। यो एउटा तारिखमात्र होइन, नयाँ कालचक्रको उदगम पनि हो। श्रीरामको हाम्रो सबैमा आशिर्वाद छ,' उनले भने।
मोदीले राम मन्दिरले आगोलाई नभएर ऊर्जाको जन्म दिएको बताए। 'राम आगो होइन, राम ऊर्जा हो। राम विवाद होइन, राम समाधान हो। राम हाम्रो मात्र होइन, राम सबैको हो। राम वर्तमान मात्र होइन, राम अनन्तकाल हो,' उनले भने। उनले यो मन्दिर देव मन्दिरमात्र नभएर भारतको दीगदर्शनको मन्दिर हो भएको बताए। 'राम भारतको आस्था हो, भारतको आधार हो, भारतको विचार हो, भारतको विधान हो। राम भारतको चिन्तन हो, नीति र निरन्तरता हो,' उनले भने।
प्रतिक्रिया