चरम उत्कर्षमा रेशम रन्जिता विवाद- संसदीय दलको नेताबाटै रन्जिता आउट

२०८१ असार १७ गते

चरम उत्कर्षमा रेशम रन्जिता विवाद- संसदीय दलको नेताबाटै रन्जिता आउट

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेता हेरफेर गरेको छ । आइतबार बसेको पार्टीका बहुमत सांसदहरू बैठकले संसदीय दलको नेताबाट रन्जिता श्रेष्ठलाई हटाउने निर्णय गरेको हो ।

नयाँ संसदीय दलको नेतामा गंगाराम डगौरा चौधरीलाई चयन गरिएको पनि बैठकको निर्णयमार्फत जानकारी गराइएको छ । कैलाली(२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गंगाराम यसअघि पार्टीको प्रमुख सचेतक थिए ।

त्यस्तै उक्त बैठकले प्रमुख सचेतकको लालविर चौधरीलाई जिम्मेवारी दिने निर्णय गरेको छ । बर्दिया-२ बाट निर्वाचित सांसद लालविर नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीका बुवा हुन् ।

बैठकको निर्णयमा अध्यक्ष रन्जिता श्रेष्ठको भने हस्ताक्षर छैन । उक्त निर्णयमा गंगाराम, लालविर र अरुणकुमार चौधरीको हस्ताक्षर रहेको छ ।

गत फागुन २१ मा माओवादीले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग गठबन्धन बनाएपछि संरक्षक रेशम चौधरी र अध्यक्ष रन्जिता श्रेष्ठबीच विवाद सुरु भएको थियो । रन्जिता पुष्पकमल दाहाल नेतृत्वकै सरकारका पक्षमा उभिँदा रेशम भने कांग्रेसलाई सघाउनुपर्नेमा अडिग थिए ।