२०८१ मंसिर ०४ गते
काठमाडौ ।देशको अर्थतन्त्रलाई लिएर अनेक खालका टिप्पणी विगतदेखि नै हुने गरेको छ । गत वर्ष धरासायी भनेको अर्थतन्त्र चालु बर्ष सुध्रिएको हो त भन्ने आम चासो पनि छ । देशको बाह्य अर्थतन्त्रमा उच्च सुधार भएपनि आन्तरिक अर्थतन्त्र अझै पनि सकसमा छ ।
देशको अर्थतन्त्र छर्लङ्ग पार्ने सात सुचक
विदेशी मुद्राको सञ्चिती २२ खर्ब ३२ अर्ब
विदेशी मुद्राको सञ्चिती हरेक महिना बढ्दो क्रममा रहेको छ । चालु आर्थिक बर्षको तीन महिनासम्ममा विदेशी मुद्रा सञ्चिती २२ अर्ब ३२ अर्ब २८ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति असोज मसान्तमा ८.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ६० करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १९ खर्ब ८८ अर्ब सञ्चिती पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब ४४ अर्ब २७ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ ।
बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । अघिल्लो बर्ष ५ महिनाको वस्तु तथा सेवा आयातलाई धान्न पुग्ने विदेशी मुद्रा सञ्चिती हुँदा देश टाट पल्टिन लागेको विश्लेषण भएको थियो । तर अहिले त्यस्तो अवस्था छैन ।
चालु खाता १ खर्ब ११ अर्ब र सोधानान्तर स्थिती १ खर्ब ८९ अर्बले बचतमा
हाल देशमा चालु खाता १ खर्ब ११ अर्ब ८७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.५९ अर्ब ६५ करोडले बचतमा रहेको थियो । चालुखाता भनेको देशिभित्र आउने विदेशी मुद्रा र बाहिरिने मुद्राबिचको अन्तर हो । बढी मुद्रा भित्रिए चालुखाता बचत हुन्छ । बढी बाहिरिए चालु खाता घाटा हुन्छ । चालु खाता अन्तर्गत वस्तु तथा सेवा व्यापार खाता, आम्दानी खाता र ट्रान्सफर खाता रहेका हुन्छन् । अहिले देशमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (ईक्विटि मात्र) ४ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब १५ करोड कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (ईक्विटि मात्र) ३ अर्ब ३८ करोड रुपैयाँ थियो ।
यता देशको शोधनान्तर स्थिति पनि १ खर्ब ८४ अर्ब ९९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ६६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३८ करोडले बचतमा रहेको छ । एक देशको अन्य देशसँग हुने वित्तिय लेनदेनको हिसाब नै सोधानान्तर स्थिती –ब्यालेन्स अफ पेमेन्ट) हो । अघिल्लो वर्ष सम्म सकसमा रहेको सोधानान्तर गत वर्षदेखि सहज अवस्थामा छ ।
आन्तरिक कर्जा माग गत वर्षकै हाराहारी
आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा कुल आन्तरिक कर्जा १ं.७ प्रतिशतले बढेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा पनि उक्त कर्जा १.७ प्रतिशतले नै बढेको थियो । वार्षिक बिन्दुगत आधारमा भने असोज मसान्तमा यस्तो कर्जा ६.१ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब २८ अर्ब ६५ करोड (२.५ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ९ अर्ब ३ करोड (२.३ प्रतिशत) ले बढेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २.५ प्रतिशतले, विकास बैंकहरुको २.४ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ३.९ प्रतिशतले बढेको छ ।
महंगी साढे २ प्रतिशतले घट्यो
अहिले मूल्य बृद्धि ४.८२ प्रतिशत रहेको छ । जबकी अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.५० प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ८.४८ प्रतिशत र ६.८५ प्रतिशतले वृद्धि भएको थियो । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २५.१५ प्रतिशत, दाल तथा गेडागुडीको १० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५७ प्रतिशत र घ्यू तथा तेलको ४.९८ प्रतिशतले बढेको छ भने माछा तथा मासु उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.१८ प्रतिशत, मरमसलाको ०.७९ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको ०.७८ प्रतिशतले घटेको छ ।
तीन महिनामा ४ खर्ब बढी रेमिट्यान्स भित्रियो
तीन महिनामा रेमिट्यान्स ४ खर्ब ७ अर्ब रुपैयाँ भित्रिएको छ । विप्रेषण आप्रवाह ११.५ प्रतिशतले वृद्धि भई ४ खर्ब ७ अर्ब ३१ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो । खुद द्वितीय आय (खुद ट्रान्सफर) ४ खर्ब ४२ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४ खर्ब ४ अर्ब ७ करोड रहेको थियो ।
आयात ४.२ र निर्यात ६.१ प्रतिशतले घट्यो
तीन महिनामा कुल वस्तु निर्यात ६.१ प्रतिशतले घटेर ३८ अर्ब ३८ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । कुल वस्तु आयात ४.२ प्रतिशतले घटेको छ । चालु आवको तीन महिनामा ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँ बराबर रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १.७ प्रतिशतले वृद्घि भएको थियो ।
सरकारको खर्च र राजस्व
तीन महिनामा नेपाल सरकारको कुल खर्च ३ खर्ब २९ अर्ब २० करोड पुगेको छ । यो अवधिमा चालु खर्च २ खर्ब २९ अर्ब ८५ करोड, पँुजीगत खर्च २९ अर्ब ३७ करोड र वित्तीय व्यवस्था खर्च ६९ अर्ब ९७ करोड रहेको छ । नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकम समेत) २ खर्ब ४८ अर्ब २६ करोड पुगेको छ । यस अन्तर्गत कर राजस्व २ खर्ब १९ अर्ब ६८ करोड र गैर कर राजस्व २८ अर्ब ५८ करोड परिचालन भएको छ ।
प्रतिक्रिया