२०८१ कात्तिक १४ गते
काठमाडौ । धनतेरस (कात्तिक १३) को एकै दिन ३५ करोड रुपैयाँ भन्दा बढीको सुन बिक्रि भएको प्रारम्भिक आंकडा रहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । दशैमा देशभर १२ केजी देखि १५ केजीसम्म सुन बिक्रि भएको थियो । तिहार लागेपछि धनतेरसको दिन २५ केजी बढी सुन बिक्रि भएको महासंघका अध्यक्ष अर्जुन रसाइलीले बाणिज्य पोष्टलाई बताए ।
उनले भने, ‘धनतेरसको दिन व्यवसायीहरुले निकै राम्रो बिक्रि गरेका छन् । देशभरबाट २५ किलो भन्दा बढी सुन बिक्रि भएको हाम्रो अनुमान छ । यो आंकडा अझै बढ्न सक्छ ।’ सुन जति नै महंगो भएपनि धनतेरसको दिन यसप्रति आकर्षण देखिएको व्यवसायीहरुले बताएका छन् । धनतेरसको दिन सुन चाँदी जस्ता बहुमूल्य धातु घरमा भित्र्याए शुभ हुने जनविश्वास छ । धनतेरसको दिन सुन प्रतितोला १ लाख ६८ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज २ हजार २ सयले बढेर तोलामा १ लाख ७० हजार ७ सयमा कायम भएको छ ।
धनतेरसमा सुनको विशेष महत्व हुन्छ । यही महत्वलाई आत्मसाथ गरेर धनतेरसको अवसरमा सुन किन्ने परम्परा लामो समय देखि चलिआएको छ ।
प्रतिक्रिया