एनपीएलमा कर्णालीद्वारा पोखरा पराजित

२०८१ मंसिर २५ गते

एनपीएलमा कर्णालीद्वारा पोखरा पराजित

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई कर्णाली याक्सद्वारा सात विकेटले हराएको छ।  पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई एक सय चार रनको सामान्य लक्ष्य दिएको थियो ।

पाँचौँ खेलमा तेस्रो जित निकालेसँगै कर्णालीले प्ले अफमा पुग्ने सम्भावना बढाएको छ । जितसँगै कर्णालीले पाँच खेलबाट ६ अङ्क बनाएको छ । यता चौथो खेलमा तेस्रो हार खेपेको पोखराको पोखराको दुई अङ्क छ ।

पोखराको अघिल्लो यात्रा कठिन बन्दै गएको छ ।  जितका लागि एक सय चार रनको मध्यम लक्ष्य पछ्याएको कर्णालीले १५ ओभरमा तीन विकेटको क्षतिमा एक सय ६ रन जोड्लै लक्ष्य पूरा गरेको हो ।

कर्णालीका लागि गुलशन झाले अविजित ४९ र चादविक वाल्टनले ४२ रन बनाए । बलिङमा पोखराका विपिन खत्री, सागर ढकाल र कुशल भुर्तेलले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित १६.३ ओभरका सबै विकेटको क्षतिमा एक सय तीन रन बनायो । पोखराका लागि ओपनरद्वय दिनेश खरेलले २६ र एन्ड्रिस गौसले २५ रन बनाए । यस्तै रेमोन रेफरले २०, कप्तान कुशल भुर्तेलले र विपिन खत्रीले १०/१० रन जोडे ।

पोखरालाई सस्तैमा समेट्न बलिङमा कर्णालीका विलियम बोसिस्टो एक्लैले ६ विकेट लिए । उनले विकेट लिनेक्रममा पुरा चार ओभर बलिङ गर्दै २८ रन खर्चिए ।

युनिस ठकुरी, विपिन शर्मा र सोमपाल कामीले एक एक विकेट लिए । यसअघि मङ्गलबार नै भएको खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले हराएको थियो ।