एनसेलको सेयर बेच्ने आजियटाको निर्णयविरुद्धको रिटमा अदालतले दुवै पक्षलाई डाक्यो छलफलमा

२०८० मंसिर १५ गते

एनसेलको सेयर बेच्ने आजियटाको निर्णयविरुद्धको रिटमा अदालतले दुवै पक्षलाई डाक्यो छलफलमा

काठमाडौं । आजियटा समूह नेपाली दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट बाहिरिने निर्णयविरुद्ध परेको रिटमा उच्च अदालत पाटनले दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

आफ्नो स्वामित्वमा रहेको एनसेलको सेयर बिक्री गरेर बाहिरिने आजियटाको निर्णय सार्वजनिक भएसँगै त्यसविरुद्ध गोकुलबहादुर रोकायाले उच्च अदालतमा रिट दायर गरेका थिए ।शुक्रबार न्यायाधीश दीपेन्द्र अधिकारीको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै र अन्तरिम आदेशका लागि छलफलमा झिकाउन भनेको छ ।

मंसिर २५ गते दुबै पक्षलाई छलफलमा बोलाउने गरी आदेश जारी भएको छ ।यसमा निवेदकले अन्तरिम आदेशसमेत माग गरेको देखिएको र निवेदकले निवेदनमा उल्लेख गरेको विषयवस्तु र आजियटा ग्रुपबाट एनसेलको टीमलाई जानकारी गराएको सूचना समेतका सन्दर्भमा हेर्दा दुवै पक्षको छलफल सुनि अन्तिरम आदेश जारी हुने नहुने सम्बधन्धमा आदेश जारी गर्नु उपयुक्त र मनासिव देखिँदा मिति २०८०/८/२५ को छलफल पेशी तोकी सोको सूचना पक्षहरुलाई रितपूर्वक दिई नियमानुसार पेश गर्नुहोला’ आदेशमा भनिएको छ ।

सञ्चालक समितिले नेपालको अवस्था चुनौतीपूर्ण रहेकाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेको आजियटाले जनाएको थियो ।

कम्पनीकाअनुसार बोर्डले नेपालबाट बाहिरिने र एनसेलमा रहेको सेयरहरुलाई बिक्रीका लागि राख्ने निर्णय गरेको हो । कम्पनीले भनेको छ, ‘हामीलाई लागछ हाम्रो यो कदमले आफ्ना रणनैतिक प्राथमिकताहरुलाई पुरा गर्नेछन् र हाम्रा लगानीकर्ताहरुको दीर्घकालिन फाइदामा सहयोग पुर्याउनेछन् ।’