२०८० पुस १० गते
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले भोलि बुधवार आइपिओ बाँडफाँड गर्ने भएको छ । हिमालयन रि इन्स्योरेन्सको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार बिहान १० बजे शेयर बाँडफाँड हुने छ ।
कम्पनीले गत मंसिर २७ देखि शेयर निष्कासन गरेको थियो। कम्पनीले १० अर्ब रुपैयाँ जारी पूँजीको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता शेयर जारी गर्ने अनुमति पाएको थियो । कम्पनीले प्रतिशेयर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले हुन आउने ६ अर्ब १८ करोड रुपैयाँको शेयर निष्कासनमा ल्याएको थियो ।
सो मध्येमा २ प्रतिशत अर्थात् ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरिएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ लाख कित्ता शेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ । त्यसै गरी, कम्पनीले सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता शेयर बाँडफाँड गरिसकेको छ ।
सोपश्चात् दोस्रो चरणमा, बाँकी रहेको २ करोड ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्कासनमा ल्याएको थियो। सोही शेयर बुधवार बाँडफाँड हुन लागेको हो।
प्रतिक्रिया