हिंसा भड्किएपछि प्रधानमन्त्री हसिनाले दिइन् राजीनामा, ‘सुरक्षित स्थान’ तर्फ पलायन

२०८१ साउन २१ गते

हिंसा भड्किएपछि प्रधानमन्त्री हसिनाले दिइन् राजीनामा, ‘सुरक्षित स्थान’ तर्फ पलायन

ढाका ।  बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छिन् । देशमा अशान्ति बढ्दै गएपछि प्रधानमन्त्री हसिनाले सोमबार राजीनामा दिएकी हुन् । राजीनामा दिएसँगै उनले देश छाडेकी छिन् । प्रधानमन्त्री हसिना भारतको पश्चिम बंगाल पुगेकी छिन् ।

नाम उल्लेख नगर्ने शर्तमा उक्त स्रोतले भन्यो, “प्रधानमन्त्री र उहाँकी बहिनी प्रधानमन्त्रीको सरकारी निवास (गणभवन) छोडेर सुरक्षित स्थानमा जानुभएको छ । “उहाँले देशवासीका नाममा सम्बोधन रेकर्ड गराउन चाहनुभएको थियो । तर त्यसो गर्ने मौका पाउनुभएन ।”

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरू गरेको आन्दोलन थप हिंसात्मक बनिरहेको समय बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले आज देशवासीका नाममा सम्बोधन गर्ने सैनिक स्राेतले जानकारी दिएको केही समयपछि नै प्रधानमन्त्रीले सुरक्षालाई दृष्टिगत गर्दै सरकारी निवासबाट बाहिरेकी हुन् ।

आन्दोलनमा प्रहरीले धरपकड हुँदा भएको क्षतिपछि सडक प्रदर्शनमा जनसहभागिता बढ्दै जाँदा आन्दोलनलाई थप उर्जा मिलेको छ । प्रदर्शनकारीले प्रधानमन्त्री शेख हसिनाको राजीनामाको मागलाई बुलन्द पारेका छन् ।

प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीले पुनः प्रदर्शन सुरु गरेपछि आइतबार भएको झडपमा कम्तीमा ९४ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

गत महिना सुरु भएको प्रदर्शनमा सोमबारसम्म प्रहरी, सरकारी अधिकारी र चिकित्सकबाट एएफपीले प्राप्त गरेको तथ्याङ्कमा कम्तीमा ३०० जनाको मृत्यु भएको पुष्टि भएको छ ।

आइतबार एकै दिनमा धेरै जनाको ज्यान जानेगरी झडपहरू भएपछि बङ्गलादेशको सुरक्षाकर्मीले सोमबार बिहानैदेखि राजधानी ढाकामा गस्ती सुरु गरेको छ ।

रासस/एएफपी