झापामा प्लास्टिकजन्य फोहोरबाट ब्लक उत्पादन सुरु

२०८० चैत २० गते

झापामा प्लास्टिकजन्य फोहोरबाट ब्लक उत्पादन सुरु

झापा । झापामा प्लास्टिकजन्य फोहोरबाट सडक बनाउन प्रयोग हुने ब्लक उत्पादन सुरु भएको छ । झापाको कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीले त्यस्तो ब्लक (पेवर्स) उत्पादन सुरु गरेको हो । सोमवार एक समारोहका बीच प्लास्टिकबाट पेवर्स बनाउने मेसिनको उद्घाटन गरिएको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले पेवर्स बनाउने मेसिनको उद्घाटन गरेका छन् । मेसिन उद्घाटनसँगै उत्पादन पनि सुरु भएको छ । एक हप्ता परीक्षणकालीन उत्पादन गर्ने बताइएको छ ।

झापाको विर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकामा उत्सर्जन हुने फोहोर व्यवस्थापनका लागि ती तीनै वटा स्थानीय तहको संयुक्त पहलमा सो परियोजना स्थापना भएको हो । निजी तथा स्थानीय सरकारको लगानी रहेको परियोजनाले दैनिक २ हजार थान पेवर्स उत्पादन गर्ने परियोजनाका मेकानिकल इन्जिनियर मोहमद नसिम अलीले जानकारी दिए । १ करोड ७१ लाख लगानीमा सञ्चालनमा ल्याइएको प्लाष्टिक ब्लक मेकिङ मेसिन २४ घण्टा सञ्चालन गर्न सकिनेछ । मेसिन सञ्चालनका लागि १० जना जनशक्तिको आवश्यक पर्नेछ ।

भारतबाट ल्याइएको अटोमेटिक मेसिनले बालुवा र प्लाष्टिकको मिश्रण आफै मिलाउने छ । ७०/३०, ६०/४० मिश्रण हुने प्लाष्टिक र बालुवाबाट ब्लक तयार गरिने छ । पहिलो चरणमा प्लास्टिकलाई टुक्राएर ६० देखि ७० डिग्री तापक्रममा गलाएर लेदो बनाइने अलीले जानकारी दिए । लेदोलाई प्रेस मेसिनमा राखेर ३० टनको लोड दिएर ब्लक निर्माण गरिनेछ । विभिन्न आकारमा निर्माण गरेर केहीबेर पानीमा राखेपछि ब्लक तयार हुन्छ । ब्लकको भार क्षमता ८० टन रहेको र मेन्टिनेन्स राम्रो भएमा ३० औँ वर्षसम्म ब्लकले काम गर्ने इन्जिनियर अलिले बताए  ।

चार वर्षअघि सुरु भएको कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा परियोजनाले हाल वर्गीकरण गरेको फोहोरबाट बायोग्यास उत्पादन गरिरहेको छ ।

रासस