२०८१ भदौ १८ गते
काठमाडौ । कर्जाको व्याजदर गएको ३२ महिनायताकै सस्तो भएको छ । बैंकिङ प्रणालीमा तरलता फालाफाल हुने तर कर्जाको माग नहुने अवस्था आउँदा कर्जाको ब्याज घट्न पुगेको हो । कुनै बेला यस्तो पनि थियो कि बैंकबाट प्रवाह हुने ऋणको ब्याजदर १८ प्रतिशतसम्म पुगिसकेको थियो त्यसबेला उद्योगी व्यवसायीदेखि आम मानिस बैंकको ब्याजदर चर्को हुँदा थप ब्यापार गर्न नसकिएको र घटाउन माग गर्दै आएका थिए । ब्यवसाय निरन्तरताका लागि कर्जा लिएर तिर्न नसक्ने अवस्था समेत सृजना भएको भन्दै विभिन्न फोरममा ब्याजदर उच्च भएको विषय बहसको विषय बन्ने गरेको थियो ।
विशेषगरी ब्याजदर सधै स्थिर रहँदैन तलमाथि भइरहन्छ भन्ने जानकारी भएकाहरुले पनि ब्याजदरको विषयलाई लिएर विभिन्न खालका आरोप बैंकहरुलाई लगाए । अहिले परिस्थिती केही फरक छ । अहिले बैकिङ प्रणालीमा निक्षेपको ब्याजदर लगातार जसो घटिरहेको छ भने यसले कर्जाको ब्याजदर समेत कम गराउँदै लगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार विगत ३२ महिना यताकै सस्तो कर्जा पाइन थालेको देखिन्छ । अर्थात बाणिज्य बैंकहरुको आधारदर (बेसरेट) ३२ महिना यताकै सस्तो भएको छ । आधारदर कम हुनु भनेको कर्जाको ब्याजदर कम हुनु पनि हो किनभने बैंकहरुले कर्जाको ब्याजदर आधारदरमा प्रिमियम जोडेर तय गर्छन ।
नेपाल राष्ट्र बैंकका अनुसार २०७८ मंसिरमा बैंकहरुको आधारदर ८.२४ प्रतिशत थियो त्यसको ३२ महिनापछि २०८१ असारमा आइपुग्दा आधारदर ८ प्रतिशतमा झरेको छ । २०७९ पुषमा आधारदर सबैभन्दा महंगो १०.८५ प्रतिशत थियो । त्यसयता हालसम्म आइपुग्दा आधारदर २.८५ प्रतिशतले घटेर ८ प्रतिशतमा झरेको देखिन्छ ।
आधारदर कम भएसँगै कर्जाको ब्याजदर त कम भयो तर कर्जा प्रवाह हुन सकेको छैन । बजारमा बस्तुहरुको माग हुन नसक्दा उद्योगी व्यवसायीे पनि कर्जा लिन तयार भएका छैनन् । फलस्वरुप बैंकहरुले आफुसँग भएको निक्षेप सस्तो ब्याजदरमै केन्द्रिय बैंकमा राख्न बाध्य भइरहेका छन् ।
प्रतिक्रिया