क्रिकेट विश्वकप लिग टु अन्तर्गतको ओडिआई खेलमा आज नेपाल क्यानाडासँग भिडदै

२०८१ भदौ ३१ गते

क्रिकेट विश्वकप लिग टु अन्तर्गतको ओडिआई खेलमा आज नेपाल क्यानाडासँग भिडदै

काठमाडौं। विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ ।

नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार सोमवार बेलुका ७ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा सुरु हुनेछ ।

त्रिकोणात्मक सिरिजमा नेपाल ,क्यानडा र ओमानको पनि सहभागिता छ । नेपाल र क्यानडाबीच ओडिआईमा हालसम्म ३ पटक भेट भएकोमा तीनै खेल नेपालले जितेको छ ।

नेपाल क्यानडाबीचको यसै वर्षको सुरुमा भएको ३ खेलको ओडिआई सिरिजमा घरेलु टोली नेपालले शतप्रतिशत नतिजा निकालेको थियो ।

घरेलु मैदानमा त नेपालको नतिजा राम्रो नै छ तर यो खेलमा क्यानडासँगको खेल घर बाहिर हुने हुँदा नेपाललाई केही चुनौती हुन सक्छ । यसअघि नेपालले देश बाहिर १० वटा राष्ट्रमा ३८ खेल खेल्दा १५ खेल मात्र जितेको छ । घरेलु मैदानमा भने नेपालले २६ खेल खेल्दा १८ मा जित तथा ८ मा हार बेहोरेको छ ।

लिग टु अन्तर्गत २०२४ बाट २०२७ सम्म ३६ ओडिआई खेल्ने नेपालले ४ खेल खेलिसक्दा १ मा मात्र जित हात पारेको छ । त्यो एक जित पनि घरेलु मैदानमा आएको थियो ।

नेपालले लिग टुको यस पटकको सिरिजमा पहिलो पटक घरबाहिर खेल्दैछ । सन् २०१९ बाट २०२३ सम्म चलेको अघिल्लो लिग टुमा नेपालले घरबाहिर भएका २४ मध्ये ९ खेलमा जित हात पार्दा १३ खेलमा पराजित भएको थियो ।