२०८० माघ २९ गते
काठमाडौँ । अनिल शाह र भिम सार्कीले सतकीय इनिङ्स खेलेपछि क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिजमा नेपालले ‘क्लिन स्विप’ गरेको छ । तीन खेलको सिरिज नेपालले ३–० ले जितेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले क्यानडालाई नौ विकेटले हरायो ।
नेपाल पहिलो खेलमा सात रन र दोस्रो खेल चार विकेटले विजयी भएको थियो । जितका लागि क्यानडाले दिएको दुई सय ३३ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ४३.३ ओभरमा एक विकेटको क्षतिमा दुई सय ३४ रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।
नेपालका लागि ओपनर अनिल शाह र भिम सार्कीले सानदार सतकीय इनिङस खेलेका छन् । अनिलको यो एक दिवसीयमा पहिलो अन्तर्राष्ट्रिय सतक हो । भिमको पनि यो खेल जीवनको पहिलो सतक हो । एक सय १२ रन बनाएका अनिलले एक सय २४ बलमा १२ चौका र दुई छक्का प्रहार गरे ।
यस्तै एक सय एक रन बनाएका भिमले एक सय २९ बलमा ११ चौका र एक प्रहार गरे । अर्का ओपनर कुशल भुर्तेल १३ रनमा आउट भए । बलिङमा क्यानडाका डिलोन हेलिगरले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ३२ रन बनाएको थियो। क्यानडाका लागि नवनीत धनिवालले ५० रन बनाए । यस्तै निखिल दत्तले ४५, कप्तान साद विन जाफरले अविजित ३१, हर्ष ठाकेरले २९, श्रीयास मोभाले २५ र श्रीमान्थ विजयरत्नेले २२ रन बनाए ।
बलिङमा नेपालका हेमन्त धामीले तीन विकेट लिए । धामीले क्यानडाविरुद्ध नेपालका लागि डेब्यु गर्नुभएको हो । कुशल मल्ले दुई तथा ललित राजवंशी र आकाश चन्दले एक एक विकेट निकालेका छन् ।
प्रतिक्रिया