२०८१ असार २५ गते
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य मात्रै रहने गरी पदबाट बर्खास्त गर्ने निर्णय गरेको छ ।
ढकाललाई रास्वपाले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट मुक्त गरेको सहप्रवक्ता मनिष झाले जानकारी दिए ।
पार्टीको निर्णय सुनाउँदै कार्यवाहक प्रवक्ता झाले केन्द्रीय समितिमा भएको छलफलका आधारमा निजबाट पार्टीको आचारसंहिताको दफा ४ (१) को क, ख, च, प र फ एवम् दफा ४ (२) को ख, दफा ५ को क र ख, दफा ६ को क र ख, दफा ९ को क, ख, ग, घ समेतको उल्लङ्घन भएको ठहर गरेको बताए ।
उनले त्यसबाट पार्टीलाई पुगेको क्षतिलाई समेत विश्लेषण गर्दै केन्द्रीय अनुशासन आयोगको हदैसम्मको कारबाही गर्नुपर्ने भन्ने सिफारिसलाई समेत ध्यानमा राखी निजलाई पार्टीको विधानको धारा ५६ (३) बमोजिम पार्टीको साधारण सदस्य कायम राखी पार्टी महामन्त्री, प्रवक्ता र केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्ने सर्वसम्मत निर्णय भएको बताए । उनले पार्टी विधानको धारा ५७ बमोजिम निज उपर केन्द्रीय समितिले गरेको निर्णय चित्त नबुझे ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा पुनरावेदनका लागि निवेदन दिनसक्ने निर्णय गरेको पनि बताए ।
पार्टीको अनुशासन आयोगले भने पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न सुझाव दिएको थियो ।
ढकालले पार्टीको बैठकमा अराजकता प्रस्तुत गरेको भन्दै यसअघि पार्टीको अनुशासन आयोगले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न सिफारिस गरेको थियो ।
प्रतिक्रिया