२०८१ भदौ २७ गते
काठमाडौँ । लगातार छ दिनदेखि घटिरहेको नेपाली शेयर बजारमा बिहिबार भने राम्रो सुधार देखिएको छ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ७८.३१ अंकले बढेर २६८८.५३ विन्दुमा पुगेको छ। बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ३ प्रतिशतले बढेको छ ।
बिहिबार नेप्सेका १३ उपसमूहमध्ये १२ वटा उपसमूहको परिसूचक बढेको छ भने एक मात्र घट्ने उपसमूहमा म्युचुवल फन्ड रह्यो जसको परिसूचक ०.०९ प्रतिशतले घटेको छ । यस दिन सर्वाधिक बढ्ने उपसमूहमा हाइड्रोपावर रह्यो जसको परिसूचक ४.२४ प्रतिशतले बढेको छ । त्यस्तै अन्य उपसमूहको परिसूचक ३.८२ प्रतिशत, इन्भेस्टमेन्ट उपसमूहको परिसूचक ३.७२, जीवन बीमा उपसमूहको परिसूचक ३.४६ प्रतिशत र फाइनान्स उपसमूहको परिसूचक ३.४० प्रतिशतले बढेको छ।
यस दिन सर्वाधिक बढ्नेमा वेअन नेपाल लघुवित्त, ग्रिन भेन्चर्स लिमिटेड, इस्टर्न हाइड्रोपावर, रावा इनर्जी र एसियन हाइड्रोपावर रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सर्वाधिक घट्नेमा थ्री स्टार हाइड्रोपावर रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
नेप्से ठूलो अंकले बढेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। बुधबार ६ अर्ब ८५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज भने ३१८ स्टकको एक लाख तीन हजार ४ सय ६२पटकको कारोबारमा ८ अर्ब १६ करोड रुपैयाँ बराबरको एक करोड ९४ लाख कित्ता शेयर खरिदबिक्री भएको छ। जसमा १२९ वटा कम्पनीको शेयर बढेको छ र १२ वटा कम्पनीको शेयर घटेको छ । त्यस्तै तीन वटा कम्पनीको शेयर भने स्थिर रहेको छ ।
बिहिबार सर्वाधिक रकमको कारोबार गर्नेमा सीइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रह्यो जसको ४७ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा पनि एचआइडिसीयलको प्रमोटर शेयर रह्यो जसको ९ लाख ९१ हजार कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया