नेप्सेमा एकल अङ्कको वृद्धि, कारोबार रकम सात अर्ब २४ करोड

२०८१ माघ २९ गते

नेप्सेमा एकल अङ्कको वृद्धि, कारोबार रकम सात अर्ब २४ करोड

काठमाडौँ। मङ्गलबार नेप्से परिसूचक एकल अंकले बढेको छ । आज नेप्से परिसूचक ६.५४ विन्दुले बढेर २६८३.८६ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.२४ प्रतिशतले बढेको हो ।

यस दिन नेप्सेका पाँच उपसमूहका परिसूचक बढेका छन् भने बाँकि आठ उपसमूहको परिसूचक घटेका छन् । यस दिन सर्वाधिक बढ्ने उपसमूहमा विकास बैंक उपसमूह रह्यो जसको परिसूचक २.३७ प्रतिशतले बढेको छ भने यस दिन सर्वाधिक घट्ने उपसमूहमा व्यापार उपसमूह रह्यो जसको परिसूचक १.०५ प्रतिशतले घटेको छ।

नेप्से परिसूचक बढेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन छ अर्ब ९६ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २९९ स्टकको ७२ हजार ९४ पटकको कारोबारमा सात अर्ब २४ करोड बराबरको किनबेच भएको छ । जसमा १३४ कम्पनीका शेयर बढेका छन् भने ९८ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी ११ कम्पनीका शेयर स्थिर रहेका छन् ।

मङ्गलबार सर्वाधिक बढ्नेमा सिक्लेस हाइड्रोपावर, भगवती हाइड्रोपावर र रसुवागढी हाइड्रोपावर रह्यो जसको शेयर दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमाभूगोल इनर्जी डेभलप्मेंट कम्पनी रह्यो जसको शेयर दश प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा सीइडीबि होल्डीङ्ग्स लिमिटेड रह्यो जसको ३६ करोड ८१ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा एनआइसी एसिया ग्रोथ फण्ड रह्यो जसको सात लाख १२ हजार कित्ता शेयर किनबेच भएको छ।