नेप्सेमा लगातार छैठौं दिन गिरावट, कारोबार रकम पनि घट्यो

२०८१ फागुन २६ गते

नेप्सेमा लगातार छैठौं दिन गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौँ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । यससँगै नेप्सेको लगातार छ दिन गिरावट आएको छ। आज नेप्से परिसूचक २०.६८ विन्दुले घटेर २७५१.४२ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.७४ प्रतिशतले घटेको हो ।

यस दिन नेप्सेका १३ वटा उपसमूहमा अन्य उपसमूहको परिसूचक मात्रै ०.०८ प्रतिशतले बढेको छ भने बाँकि १२ उपसमूहका परिसूचक घटेका छन् । यस दिन सर्वाधिक घट्ने उपसमूहमा जीवन व्यापार उपसमूह रह्यो जसको परिसूचक १.६५  प्रतिशतले घटेको छ।

नेप्से परिसूचक घटेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १० अर्ब ९ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ८७ हजार एक सय ५६ पटकको कारोबारमा आठ अर्ब ३३ करोड बराबरको किनबेच भएको छ । जसमा ४४ कम्पनीका शेयर बढेका छन् भने १९१ कम्पनीका शेयर घटेका छन् । त्यसै गरीआठ कम्पनीका शेयर स्थिर रहेका छन् ।

सोमबार सर्वाधिक बढ्ने स्टकमा नेस्ड़ो सम्वृद्धि लघुवित्त कम्पनी रह्यो जसको शेयर ९ . ९८ प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्ने स्टकमा उपकार लघुवित्त रह्यो जसको ६ . ९८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा नेपाल रिइन्स्योरेन्स कम्पनी रह्यो जसको ७३ करोड ५० लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा घलेम्दी हाइड्रोपावर रह्यो जसको ११ लाख ६३ हजार कित्ता शेयर किनबेच भएको छ।