२०८१ साउन २२ गते
काठमाडौं । नेप्सेमा सूचीकृत ८ राष्ट्रियस्तरका विकास बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार बैंकहरुको खुद नाफामा सुधार आएको छ । १ वर्षमा खुद नाफा ९.३९ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५ अर्ब ५५ करोड ६८ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
अघिल्लो वर्षको यसैअवधिमा यी बैंकले ५ अर्ब ७ करोड ९७ लाख ५० हजार रुपैयाँ रुपैयाँ खुद नाफा कमाएका थिए । यता, खुद ब्याज आम्दानीमा पनि सामान्य वृद्धि भएको छ । तथापि, खराब कर्जा अनुपात भने थप बढेको छ । ८ बैंकमध्ये अधिकांश सूचकमा मुक्तिनाथ विकास बैंक अगाडि रहेको छ ।
राष्ट्रियस्तरका विकास बैंकहरुको चुक्ता पुँजी ५.४३ प्रतिशतले बढ्यो
१ वर्षको अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको चुक्ता पुँजी समग्रमा ५.४३ प्रतिशतले बढेर ३६ अर्ब २५ करोड ८५ लाख १७ हजार रुपैयाँ पुगेको छ । २०८० असार मसान्तमा यिनीहरुको चुक्ता पुँजी ३४ अर्ब ३९ करोड ११ लाख ४९ हजार रुपैयाँ थियो । सबैभन्दा धेरै पुँजी मुक्तिनाथ विकास बैंकको रहेको छ । यसको पुँजी ९.७५ प्रतिशतले बढेर ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँ पुगेको छ । १ वर्षको अवधिमा ५ बैंकको चुक्ता पुँजी बढेको छ भने ३ बैंकको अघिल्लै वर्षको यथावत रहेको छ ।
विकास बैंकहरुको जगेडा कोष २९.६६ प्रतिशतले बढ्यो
गत आर्थिक वर्षको असार मसान्तसम्ममा राष्ट्रियस्तरका विकास बैंकहरुको जगेडा कोष २९.६६ प्रतिशतले बढेर १८ अर्ब ३० करोड २३ लाख २१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा ८ वटाको जगेडा कोषमा १४ अर्ब ११ करोड ५६ लाख १० हजार रुपैयाँ थियो । सबैभन्दा धेरै जगेडा कोष मुक्तिनाथ विकास बैंकको रहेको छ । यसको उक्त कोष ३९.८० प्रतिशतले बढेर ३ अर्ब १७ करोड ९ लाख ५२ हजार रुपैयाँ पुगेको छ । १ वर्षमा ८ वटै बैंकको जगेडा कोषको आकार बढेको छ ।
खुद ब्याज आम्दानी समग्रमा २.५९ प्रतिशतले बढ्यो
१ वर्षको अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको खुद ब्याज आम्दानी समग्रमा २.५९ प्रतिशतले बढेको छ । २०८१ असार मसान्तसम्म आइपुग्दा विकास बैंकहरुले २० अर्ब ८१ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । २०८० असार मसान्तसम्ममा यिनीहरुले १९ अर्ब ५० करोड २७ लाख ५३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए ।
सबैभन्दा धेरै खुद ब्याज आम्दानी गर्नेमा पनि मुक्तिनाथ विकास बैंक नै रहेको छ । यसको खुद ब्याज आम्दानी १.९२ प्रतिशतले बढेर ४ अर्ब १८ करोड ३० लाख ९५ हजार रुपैयाँ पुगेको छ । १ वर्षको अवधिमा ५ बैंकको खुद ब्याज आम्दानी बढेको छ भने ३ को घटेको छ ।
नाफा ९.३९ प्रतिशत बढ्यो
८ विकास बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५ अर्ब ५५ करोड ६८ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो वर्षको यसैअवधिमा यी बैंकले ५ अर्ब ७ करोड ९७ लाख ५० हजार रुपैयाँ रुपैयाँ खुद नाफा कमाएका थिए । यी बैंकको नाफा १ वर्षको अवधिमा ९.३९ प्रतिशत बढेको हो । मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै १ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष यस्तो नाफा १ अर्ब २४ करोड रुपैयाँ थियो । १ वर्षको अवधिमा ५ बैंकको नाफा बढेको छ भने ३ बैंकको घटेको छ ।
खराब कर्जा औसतमा १ प्रतिशत विन्दुले बढ्यो
१ वर्षको अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको खराब कर्जा १ प्रतिशत विन्दुले बढेको छ । २०८० को असार मसान्तमा २.५९ प्रतिशत रहेको खराब कर्जा २०८१ को असार मसान्तसम्म आइपुग्दा ३.५९ प्रतिशत छ । सबैभन्दा धेरै खराब कर्जा ज्योति विकास बैंकको रहेको छ । यसको खराब कर्जा अनुपात १.५२ प्रतिशतले बढेर ४.९५ प्रतिशत पुगेको छ । महालक्ष्मी र साग्रिंला डेभलपमेन्ट बैंकको खराब कर्जा पनि ४ प्रतिशतमाथि छ । सबैभन्दा कम खराब कर्जा मुक्तिनाथ विकास बैंकको ३.५९ प्रतिशत छ ।
सबैभन्दा धेरै प्रतिसेयर आम्दानी गरिमा विकास बैंकको
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा राष्ट्रियस्तरका ८ विकास बैंकहरुमध्ये सबैभन्दा धेरै प्रतिसेयर आम्दानी गरिमा विकास बैंकको रहेको छ । यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ छ । तथापि, अघिल्लो वर्षको तुलनामा यसको प्रतिसेयर आम्दानी २ रुपैयाँ २६ पैसाले घटेको हो । १ वर्षमा ५ विकास बैंकको प्रतिसेयर आम्दानी घटेको छ भने ३ बैंकको बढेको छ ।
प्रतिक्रिया