२०८० माघ ०४ गते
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई बुख्याचाको संज्ञा दिएका छन् ।बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी निकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको सरकार तरकारी बारीमा राखिएको बुख्याँचा जस्तै भएको आरोप लगाएका हुन् । उनले अहिले देश बर्बाद हुँदै गएको भन्दै मिसन पनि ०८४ कुर्न नसक्ने अवस्था आएको बताए । उनले बर्बादी नरोकिए वर्तमान गठबन्धन भत्काएर भएपनि सरकार सञ्चालन गर्ने आशय व्यक्त गरेका छन् ।
अध्यक्ष ओलीले वर्तमान सरकार भ्रष्टाचारी र भ्रष्टाचारीहरुको संरक्षणमा लागेको आरोप लगाए । उनले अहिलेको सत्ता गठबन्धनका नेताहरु भ्रष्टाचारी कमिसनतन्त्रीय वंश, निकम्मा गोत्र र देशद्रोही जातका भएको बताए । उनले देश अहिले अफ्ठ्यारो स्थितिमा रहेको भन्दै नेकपा एमालेले सबै क्षेत्रबाट देशलाई जोगाउनुपर्ने बताए । उनले मिसन ०८४ मा हरेक ठाउँमा ५१ प्रतिशत भन्दा बढी आफ्नो शक्ति बनाउने गरी अघि बढ्न आवश्यक रहेको बताए ।
उनले भने, ‘हाम्रो देश अहिले अलि अफ्ठ्यारो स्थितिमा छ । सबै क्षेत्रबाट हामीले देशलाई यस अफ्ठ्यारो स्थितिबाट जोगाउनुपर्नेछ । हामी मिसन ०८४ मा छौँ । मिसन ०८४ मा हामीले हरेक ठाउँमा ५१ प्रतिशत भन्दा खेलकुद क्षेत्रमा पनि हामीले ५१ प्रतिशत भन्दा बढी खेलाडी हाम्रो पक्षमै पार्नेछौँ । हाम्रो पक्षमा उत्पादन गरेको हुनुपर्छ । हाम्रो पक्षमा बढाएको हुनुपर्छ । हामी खेल मात्रै खेल्दैनौँ । अरु पोल्टिकल काम अरु संगठनमा पनि आवद्ध छौँ । हामी वर्ग संघर्षमा छौं ।
प्रतिक्रिया