पाँच महिनामै बैंकहरुको नाफा साढे ३० अर्ब बढी, सबैभन्दा बढी नाफा नबिल बैंकको

२०८१ पुस २९ गते

पाँच महिनामै बैंकहरुको नाफा साढे ३० अर्ब बढी, सबैभन्दा बढी नाफा नबिल बैंकको

काठमाडौ । बाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा ३० अर्ब ५९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएक प्रतिवेदन नेपाल राष्टज्ञ बैंकले सार्वजनिक गरेका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकको नाफा ७.८४ प्रतिशतले बढेको छ । । गत आर्थिक वर्षको यसै अवधिमा बैंकहरुले २८ अर्ब ३६ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक अगाडि देखिएको छ । यसले केही समय यता निरन्तर नाफाका आधारमा एक नम्बरको स्थान ओगटीरहेको छ । नबिलले ५ महिनामा ३ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यसलाई ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पछ्याइरहेको छ । ग्लोबल आइएमई बैंकले २ अर्ब ८३ करोड तथा नेपाल इन्भेष्टमेन्ट मेगाले २ अर्ब ४९ करोड कमाएको छ । यता कुमारीले १ अर्ब ९९ करोड, प्राइम कर्मिसयलले १ अर्ब ९६ करोड, एभरेष्ट बैंकले १ अर्ब ९४ करोड, एनएमबिले १ अर्ब ९० करोड र प्रभुले १ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।

केही वर्ष अघि व्यापार विस्तारमा आक्रामक बनेको एनआइसी एशिया बैंक पछिल्लो समय सुस्ताएको छ । यो बैंक नाफाका आधारमा सबैभन्दा पुछारमा छ । एनआइसी एसिया बैंकले जम्मा ६३ करोड ३४ लाख रुपैयाँ मात्र नाफा गरेको छ । सबैभन्दा बढी एनआइसी एसियाको नाफा ६५.७६ प्रतिशतले घटेको छ । सिटिजन्स बैंकले ६९ करोड ४९ लाख, माछापुच्छ्रे बैंकले ८२ करोड ७४ लाख तथा राष्ट्रिय वाणिज्य बैंकले ८६ करोड ७१ लाख नाफा कमाएका छन् । अधिकांश बैंकहरुको नाफा बढेको देखिन्छ ।