प्रधानमन्त्री ओलीको फोटो राखेर मृत्युको कामना गर्दै पूजा गरिरहेको अवस्थामा पुष्कर खतिवडा पक्राउ

२०८१ साउन १४ गते

प्रधानमन्त्री ओलीको फोटो राखेर मृत्युको कामना गर्दै पूजा गरिरहेको अवस्थामा पुष्कर खतिवडा पक्राउ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गरिरहेको अवस्थामा पुष्कर खतिवडा पक्राउ परेका छन् ।

प्रहरी वृत्त महाराजगन्जको टोलीले सोमबार खतिवडालाई उनकै निवासबाट पक्राउ गरेको हो । अनुष्ठानको प्रयोजन आपत्तिजनक भएकाले पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

खतिवडाले आफ्नो घरमा यज्ञ गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा राखेका थिए । उनले प्रधानमन्त्री ओलीलगायत नेताहरूको नाममा यमपूजा गर्दै होम हाल्ने तयारी गरिरहेका थिए । तर, प्रहरीले त्यसअघि नै पक्राउ गरेको हो ।

उनले चार दिनअगाडि नै नेताहरूको मृत्युको कामना गर्दै एउटा अनुष्ठान आयोजना गर्न लागेको र त्यसमा सबैले साथ दिन भन्दै भिडिओ पोष्ट गरेका थिए । त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना भएलगत्तै उनले उक्त भिडिओ पोस्ट गरेका थिए ।