पूर्व अर्थसचिव कृष्णहरि पुष्कर, पोखरेल र मरासिनीले राष्ट्र बैंकबाट कति लिए भत्ता ?

२०८१ मंसिर ०५ गते

पूर्व अर्थसचिव कृष्णहरि पुष्कर, पोखरेल र मरासिनीले राष्ट्र बैंकबाट कति लिए भत्ता ?

काठमाडौ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थमन्त्रालयबाट अर्थसचिवले प्रतिनिधित्व गर्ने प्रावधान छ । सोही अनुरुप एक बर्षमै अर्थमन्त्रालयले ३ जना अर्थसचिव फेरेको थियो । गत आर्थिक वर्षमा पूर्व अर्थसचिव कृष्णहरी पुष्करले राष्ट्र बैंकबाट १ लाख ७१ हजार रुपैयाँ बैठक भत्ता बुझेका छन् । यस्तै पुष्करले अन्य सेवा सुविधा अन्र्तगत २ लाख ९ हजार ८ सय ३९ रुपैयाँ बुझेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार अर्का पूर्व अर्थसचिव अर्जुन पोखरेलले पनि बैठक भत्ता बापत ५४ हजार रुपैयाँ लिएका छन भने अन्य सेवा सुविधा अन्र्तगत ८३ हजार ५२० रुपैयाँ लिएका छन् । यस्तै पूर्व अर्थसचिव मधु मरासिनीले ८३ हजार बैठक भत्ता बुझेको राष्ट्र बैंकले जनाएको छ । मरासिनीले अन्य सुविधा अन्र्तगत ७६ हजार ३९३ रुपैयाँ लिएका छन् । राष्ट्र बैंकको बोर्ड बैठकको भत्ता प्रति बैठक ९ हजार रुपैयाँ रहेको छ ।

सञ्चालक समितिहरुले अन्य सुविधा अन्र्तगत इन्धन खर्च, सवारी साधन मर्मत खर्च, टेलिफोन पत्रपत्रिका, ड्राइभर, औषधी उपचारको सुविधा पाउने गरेका छन् । अर्थमन्त्रालयका अर्थसचिव राष्ट्र बैंकको बोर्ड सदस्य हुने व्यवस्था छ । उनीहरुले अर्थमन्त्रालयबाट पनि तलब भत्ता तथा सुविधा पाउँछन भने राष्ट्र बैंकले पनि छुट्टै बैठक भत्ता र अन्य सेवा सुविधा दिने गरेको छ ।

पोखरेल २०८० बैशाख २५ गते राष्ट्र बैंकको सञ्चालक सदस्यमा नियुक्त भएर भदौ २८ गते बाहिरिएका थिए । त्यसपछि कृष्णहरी पुष्कर अर्थसचिव बनेपछि उनी २०८० असोज ५ गते बोर्ड सञ्चालकमा नियुक्त भएका थिए । उनी २०८१ बैंशाख ९ गते सञ्चालकबाट बाहिरिए । त्यसपछि अर्को अर्थसचिव मधुमरासिनी भए । उनी राष्ट्र बैंकमा २०८१ बैशाख १२ गते नियुक्त भएका थिए ।