रिडी पावरले फागुन १८ गतेदेखि हकप्रद शेयर जारी गर्ने

२०८० फागुन ०१ गते

रिडी पावरले फागुन १८ गतेदेखि हकप्रद शेयर जारी गर्ने

काठमाडौँ । रिडी पावर कम्पनीले फागुन १८ गतेदेखि हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत अर्थात १:०.५० अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ। कम्पनीले १०० अंकित मूल्यमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेकोमा हकप्रद शेयर निष्काशन पछि पुँजी २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुग्न जानेछ।कम्पनीले हकप्रद शेयर प्रयोजनार्थ माघ २२ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, माघ २१ गतेसम्म नेप्सेमा कारोवार गरि कायम लगानीकर्ताले चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । आवेदकले मुक्तिनाथ क्यापिटल र कम्पनीको केन्द्रीय कार्यालयबाट आवेदन दिन सक्ने छन भने मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकको तोकिएको शाखा कार्यालय साथै, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सकिनेछ।

यो हाइड्रोपावरको लगानी तथा व्यवस्थापनमा रहेको साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलिविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपुँजी व्यवस्थापन गर्न हकप्रद शेयर निष्कासन गर्न लागेको हो।