२०८१ जेठ ०४ गते
काठमाडौँ । सहकारी प्रकरणको छानबिन गर्न विपक्षी ५ दल एकमत देखिएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाको आह्वानमा शुक्रबार बानेश्वरको संसद् भवन परिसरको बैठकमा बसेको विपक्षी दलहरूको बैठकले सहकारी ठगीको छानबिनको लागि समिति गठनमा एकमत रहेको निर्णय गरेको जानकारी कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दिए ।
साथै बैठकले बिहीबार सभामुख देवराज घिमिरेले बैठकमा निष्पक्षता देखाउन नसकेको भन्दै उनको भूमिकाको विषयमा ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ । बैठकमा कांग्रेससहित लोसपा, जसपा नेपाल, राप्रपा र राष्ट्रिय जनमोर्चा सहभागी भएका थिए ।
बैठकमा कांग्रेसबाट सभापति देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ र महामन्त्री गगन थापा सहभागी छन् । त्यस्तै, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेता शशांक कोइराला पनि सहभागी छन् ।
जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादव र राजकिशोर यादव सहभागी भएका छन् । राप्रपाबाट धवलशम्शेर राणा र ज्ञानेन्द्र शाही सहभागी छन् । लोसपा अध्यक्ष महन्थ ठाकुर र शरदसिंह भण्डारी बैठकमा सहभागी भएका थिए ।
सत्तारुढ दलको छलफल र विपक्षी दलहरूले समेत समय मागेपछि ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठक अझै शुरू हुन सकेको छैन ।
प्रतिक्रिया