सरकारको आर्थिक सर्वेक्षण - आर्थिक वर्षको अन्त्यसम्म प्रतिव्यक्ति आय १४ सय ५६ डलर हुने

२०८१ जेठ १३ गते

सरकारको आर्थिक सर्वेक्षण - आर्थिक वर्षको अन्त्यसम्म प्रतिव्यक्ति आय १४ सय ५६ डलर हुने

काठमाडौँ ।अर्थमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्षको अन्त्यसम्म प्रतिव्यक्ति आय १४ सय ५६ डलर हुने बताएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री पुनले २०८०/८१ को आर्थिक सर्वेक्षण पेश गर्दै यो आर्थिक वर्षको अन्त्यमा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत हुने र प्रतिव्यक्ति आय साढे १४ सय अमेरिकी डलर हुने बताएका हुन् ।

"मुलुकको आर्थिक सामाजिक परिस्थिति सुधारिएको छ," नेपाली कांग्रेसले गरेको अवरोधका बीच रोष्ट्रम पुगेर उनले भने, "मुलुकको अर्थतन्त्र ३ दशमलव ९ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ ।"

उनले मुद्रास्फिति ६ दशमलव ८ प्रतिशत रहने बताए । साथै राजश्व परिचालन सुधारिएको उनको दाबी छ ।

"चालू आर्थिक वर्षको फागुनसम्म संघीय सरकारको खर्च २ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ,"उनले भने, "यो बीचमा २३ खर्ब, ८८ अर्ब २६ करोड ऋण परिचालन पनि भएको छ ।" उनले बैंकमा प्रशस्त तरलता रहेको बताए ।

उनले आर्थिक सर्वेक्षणले औंल्याएका विषयहरूलाई बजेटमार्फत कार्यान्वयन गर्दै लगिने बताए । आउँदो मंगलबार सरकारले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।