२०८१ असार १८ गते
काठमाडौं । सोमबार मध्यरातमा सरकारको नयाँ समिकरण बनेपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष चयन प्रक्रिया के होला ? भन्ने आशंका उब्जिएको छ । धितोपत्र बोर्ड अध्यक्षको विषय यति पेचिलो बनेको थियो कि यही नियुक्ती प्रक्रियालाई लिएर सरकारनै परिवर्तन हुन पुगेको जानकारहरु बताउँछन् ।
धितोपत्र बोर्डको रिक्त अध्यक्षका लागि आवेदन माग गरिएकोमा अध्यक्ष नियुक्ती गर्न गठित समितिले निवेदन आह्वान गर्दा १९ जनाको निवेदन परेको थियो । त्यसमध्ये ५ जनालाई समितिले सर्टलिस्ट गरेको थियो । तर, तीमध्ये सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्रै अन्तरवार्तामा उपस्थित भए भने कृष्णबहादुर कार्की, डा. नवराज अधिकारी तथा चीरञ्जीवी चापागाईं अनुपस्थित भए । तर, ऐनमा कम्तीमा तीनजनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान भएकाले सिफारिस समितिले महान्यायाधिवक्ताको राय लिएर प्रक्रिया नै रद्द गरिदिएको थियो ।
अन्तरवार्ता सामना गरिसकेका सन्तोषनारायण श्रेष्ठ नेकपा एमाले र कांग्रेस दुवैको रोजाईमा थिए । तर माओवादी केन्द्र भने प्रक्रिया रद्द गरेरै भएपनि सन्तोषनारायणलाई धितोपत्र बोर्ड अध्यक्ष नियुक्त गन पक्षमा देखिएन । यसकारण रुष्ट एमाले कांग्रेस निकट भएर सरकार बनाउने निर्णयमा पुग्यो । ढिलै सही एमालेको यसै विषयलाई लिएर सरकार परिवर्तन गर्ने मनस्थिती बुझेर सोमबारको मन्त्रिपरिषदले हतारमा पुरानै सदस्यलाई निरन्तरता दिएर समिति बनाएको बताएको थियो ।
छनोट प्रक्रिया रद्द भएपछि पुन बनेको समितिमा राष्ट्रिय योजना आयोग उपाध्यक्ष मिनबहादुर श्रेष्ठको नेतृत्वको समितिमा अर्थसचिव मधु मरासिनी र प्राध्यापक उदय निरौला नै छन् ।यसअघिको चयन प्रक्रियाको अन्तिम चरण अर्थात् अन्तर्वार्तामा २ उम्मेदवारमात्र उपस्थित भएपछि प्रक्रिया नै रद्द गरिएको थियो । प्रक्रिया रद्द भएसँगै एक प्रत्यासी सन्तोषनारायण श्रेष्ठले अदालतमा रिट दायर गरिसकेका छन् ।
अब पूनः एमाले कांग्रेसको सरकार बनेपछि पुरानै अघि बढेको प्रक्रियाले निरन्तरता पाउँछ या नयाँ समिति निर्माण गरेर धितोपत्र बोर्ड अध्यक्ष चयन गरिन्छ निकै चासोको विषय बन्न पुगेको छ ।
प्रतिक्रिया