२०८१ असार १९ गते
काठमाडौँ । हिजो सरकार परिवर्तनको हल्लाले दोहोरो अंकले बढेको शेयर बजारमा आज भने एकल अङ्कको बढोत्तरी भएको छ । यस दिन नेप्से ३.७९ अंकले बढेर २१०४.२२ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.१८ प्रतिशतले बढेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य पाँच उपसमूहका परिसूचक बढेका छन् भने अन्य आठ उपसमूहका परिसूचक घटेका छन् । बुधबार सर्वाधिक बढ्नेमा व्यापार उपसमूह रह्यो जसको परिसूचक ६.१२ प्रतिशतले वृद्धि भएको छ, यसका साथै फाइनान्स उपसमूहमा पनि ६.०४ प्रतिशतको उछाल आएको छ । यस दिन सर्वाधिक घट्नेमा उत्पादन तथा प्रशोधन उपसमूह रह्यो जसको परिसूचक १.०७ प्रतिशतले घटेको छ ।
नेप्से बढेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा यस दिन ३१४ वटा स्टकको ६१ हजार एक सय ९९ पटकको कारोबारमा ५ अर्ब ८ करोड रुपैयाँ बराबरको एक करोड ७१ लाख कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा १०१ कम्पनी बढेका छन् भने १३६ कम्पनी घटेका छन् । यसैगरी दश कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा सेन्ट्रल फाइनान्स, आइ.सी.एफ.सी फाइनान्स र गुहेश्वोरी मर्चेन्ट बैंक एण्ड फाइनान्स रह्यो जसको शेयरमा दश प्रतिशतको उछाल आएको छ । सर्वाधिक घट्नेमा चिर्ख्वा हाइड्रोपावर रह्यो जसको शेयरमा ४.७० प्रतिशतको गिरावट आएको छ ।
बुधबार सर्वाधिक रकमको कारोबार गर्नेमा मन्जुश्री फाइनान्स रह्यो जसको २३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा एनएमबि-५० रह्यो जसको ३८ लाख १४ हजार कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया