सेयर बजारमा गिरावट आउँदा सरकारले पाउने राजस्व ७७ प्रतिशतले घट्यो, लगानीकर्ताले बुझाए एक महिनामा ५८ करोड पुँजीगत लाभकर

२०८१ कात्तिक ०५ गते

सेयर बजारमा गिरावट आउँदा सरकारले पाउने राजस्व ७७ प्रतिशतले घट्यो, लगानीकर्ताले बुझाए एक महिनामा ५८ करोड पुँजीगत लाभकर

काठमाडौ । असोज महिनामा सरकारले सेयर कारोबारबाट पाउने राजस्वमा गिरावट आएको छ । लगानीकर्ताले सरकारलाई असोज महिनामा ५८ करोड ६५ लाख ४० हजार ४ सय ६५ रुपैयाँ बराबरको पुँजीगत लाभकर तिरेका छन् । यो भदौको तुलनामा ७७ प्रतिशत कम हो । जबकी भदौमा लगानीकर्ताले २ अर्ब ५७ करोड ९४ लाख र साउनमा ४ अर्ब २३ करोड ७८ लाख रुपैयाँ पुँजीगत लाभकर तिरेका थिए । सेयर बजारले असोज महिनामा राम्रो पिकअप लिन सकेको थिएन भने यति बेलै दशैका कारण सेयर बजार केही दिन बन्द भयो ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडको तथ्यांकअनुसार तीन महिनाको अवधिमा ७ अर्ब ४० करोड १२ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ । असोजमा आएर पुँजीगत लाभकर ह्वात्तै घट्यो । अल्पकालिन (१ वर्षसम्म धितोपत्र होल्ड गर्ने ) लगानीकर्ताले सेयर नाफामा बिक्री गर्दा सरकारलाई ७.५० प्रतिशत र दीर्घकालिन (१ वर्ष भन्दा धेरै समय धितोपत्र होल्ड गर्ने) लगानीकर्ताले सेयर नाफामा विक्रि गर्दा ५ प्रतिशत पुँजीगत लाभकर बुझाउनु पर्ने व्यवस्था छ । सामान्यतया बजार बढ्दा पूँजीगत लाभकर बढ्ने र घट्दा घट्ने गरेको छ ।