सेयर बजारमा करेक्सनकै निरन्तरता,बजार खुलेको पहिलो प्रहरमा नेप्से बढ्ने अनि अन्तिमतिर पुगेपछि घट्ने ट्रेण्ड

२०८१ भदौ ३० गते

सेयर बजारमा करेक्सनकै निरन्तरता,बजार खुलेको पहिलो प्रहरमा नेप्से बढ्ने अनि अन्तिमतिर पुगेपछि घट्ने ट्रेण्ड

काठमाडौं । नेप्से सूचक आइतबार फेरि घटेको छ । यस दिन नेप्से सूचक ५०.७३ विन्दुले घटेर २६३७.३९ अंकमा आएको छ । सूचक घटे पनि कारोबार रकममा भने बढोत्तरी देखिएको छ । १० अर्ब ३३ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । सबै समूहका सूचक घटेका छन् ।

करिब १ महिनायता बजार घट्दोक्रममा रहेको छ । यो क्रमलाई गत बिहीबार नेप्से तोडेको थियो । त्यस दिन सूचक फराकिलो अंकले बढेकाले अब बजारको करेक्सन सकिएको कतिपयले अनुमान गरेका थिए । तर, उक्त अनुमानविपरीत सूचक आइतबार पुनः घटेको छ । बजारमा आएको बिक्री चापलाई धान्न सक्ने संस्थागत र ठूला लगानीकर्ताहरु ‘अझै पनि पर्ख र हेरकै’ अवस्थामा बस्दा नेप्सेले गति लिन नसकेको अनुमान गरिएको छ ।

यद्यपि, बिहीबार फराकिलो अंकले बढेकाले अल्पकालीन कारोबारी हावी भएको देखिन्छ । यसअघि ३ हजारसम्म पुगेको नेप्से छोटो समयमै घटेर २६ सय विन्दु आसपाससम्म झरेको हो । सूचकसँगै कारोबार रकम पनि सुस्त भइरहेको छ । यद्यपि, पछिल्ला दिनहरुमा कारोबार रकममा केही सुधारको संकेत भने देखिएका छन् ।

पछिल्ला दिनहरुमा बजार खुलेको पहिलो प्रहरमा नेप्से बढ्ने अनि अन्तिमतिर पुगेपछि घट्ने गरेको देखिन्छ । आइतबार पनि यही प्रवृत्तिले निरन्तरता पाएको छ । बजार खुलेको पहिलो सत्रमा नेप्सेमा राम्रो बढोत्तरी देखिएको थियो । तर करिब २ बजेतिरबाट नेप्से घट्न थालेको हो । केही समययता अन्तिम प्रहरमा सेलिङ प्रेसर अलिबढी देखिइरहेको छ ।

यसअघि नाफा बुक गरेर बाहिरिएकाहरुको अझै बजारमा बलियो उपस्थिति हुन बाँकी रहेको आइतबारको बजारले संकेत गरेको छ । विशेषगरी, ठूला र संस्थागत लगानीकर्ता सेयर किन्न नथाल्दासम्म बजारे गति लिन गाह्रो हुन्छ । बजारमा आउने सेलिङ प्रेसरलाई संस्थागत लगानीकर्ताले मात्र धान्न सक्छन् । व्यक्ति साना लगानीकर्ताको खरिदले मात्र बजारलाई माथि लैजान नसक्ने अनुभवीहरु बताउँछन् ।