२०८१ साउन २८ गते
काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्सेमा कारोबार रकमले फेरी नयाँ रेकर्ड बनाएको छ । आइतबार मात्रै नेप्सेमा भोल्यूमले अल टाइम हाइ रेकर्ड बनाएको थियो । आइतबार नेप्सेमा २५ अर्ब ७७ करोड बराबरको शेयर खरिदबिक्री भएको थियो । सोमबार फेरी उक्त रेकर्ड तोडेर झन्डै डेढ अर्ब बढी अर्थात् २७ अर्ब २४ करोड बराबरको कारोबार भएको छ।
कारोबार रकमको वृद्धिसंगै नेप्से परिसूचकमा ठूलो उछाल आएको छ। यस दिन नेप्से परिसूचक ७०.८१ अंकले बढेर २९३१.६५ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव व्यहोरेको नेप्से अन्ततः २.४७ प्रतिशतले बढेको हो ।
यस दिन नेप्सेमा १३ उपसमूहमध्य ११ उपसमूहका परिसूचक बढेका छन् भने अन्य दुई उपसमूहका परिसूचक घटेका छन् । सोमबार सर्वाधिक बढ्नेमा जीवन बीमा उपसमूह रह्यो जसको परिसूचक ५ .८५ प्रतिशतले वृद्धि भएको छ । यस दिन लगानिकर्तामाझ फाइनान्स सेक्टर प्रति पनि राम्रै आकर्षण रह्यो जसको परिसूचक ४.८१ प्रतिशतले बढेको छ। यसै गरी सबैभन्दा कम बढ्नेमा म्युचुवल फण्ड उपसमूह रह्यो जसको परिसूचक ०.९३ प्रतिशतले मात्र बढेको छ।
आज ३३९ वटा स्टकको दुई लाख ८३ हजार पटकको कारोबारमा ६ करोड ४८ लाख कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा १७१ वटा कम्पनी बढेका छन् भने ६८ वटा कम्पनी घटेका छन् । त्यस्तै तीन कम्पनी भने स्थिर रहेका छन् । सूर्यज्योति लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, भिजन लुम्बिनी उर्जा कम्पनी, सगरमाथा जलविद्युत कम्पनी, शुभम् पावर, श्वेतगंगा हाइड्रोपावर, हिमालयन लाइफ इन्स्योरेन्स, नेशनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र अरुण काबेली पावर रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक घट्नेमा कुथेली बुखारी स्मल हाइड्रोपावर रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
सोमबार पनि सर्वाधिक रकमको कारोबार गर्नेमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड रह्यो जसको एक अर्ब २२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा नबिल ब्यालेन्सड फन्ड - २ रह्यो जस्को १६ लाख ६९ हजार कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया