शेयरबजारमा दोहोरो अङ्कको गिरावट, कारोबार रकममा भने वृद्धि

२०८१ मंसिर ०६ गते

शेयरबजारमा दोहोरो अङ्कको गिरावट, कारोबार रकममा भने वृद्धि

काठमाडौँ। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट आएको छ । बिहिबार नेप्से परिसूचक ३१.३१ विन्दुले घटेर २६८०.४४ अंकमा आएको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः १.१५ प्रतिशतले घटेको हो ।

यस दिन नेप्सेका १३ उपसमूहमध्य १३ उपसमूहकै परिसूचक घटेको छ । यस दिन सर्वाधिक घट्ने उपसमूहमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक २.८६ प्रतिशतले घटेको छ । त्यस्तै होटल तथा पर्यटन उपसमूह १.७३  प्रतिशत, अन्य उपसमूह १.६७ प्रतिशत, उत्पादन प्रशोधन उपसमूह १.५४ प्रतिशत, विकास बैंक १.४७ प्रतिशत, त्यस्तै लाइफ इन्स्योरेन्स १.३६ प्रतिशतले घटेका छन् । आज सबै भन्दा कम घट्ने उपसमूहमा म्युचुवल फन्ड रह्यो जसको परिसूचक ०.१९ प्रतिशतले घटेको छ।

नेप्से परिसूचक दोहोरो अंकले घटेसंगै बिहिबार कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन ७ अर्ब ९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको एक लाख ८४ हजार पटकको कारोबारमा ८ अर्ब २५ करोड बराबरको किनबेच भएको छ । जसमा ४३ कम्पनीका शेयर बढेका छन् भने १९७ कम्पनीका शेयर घटेका छन् । त्यस्तै, चार कम्पनीको शेयर भने स्थिर रहेका छन् ।

यस दिन सर्वाधिक बढ्नेमा सामुदायिक लघुवित्त, थ्री स्टार हाइड्रोपावर रह्यो जसको शेयर सर्किट लेभलमा कारोबार भएको छ। त्यसै गरी सर्वाधिक घट्नेमा जानकी फाइनान्स रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा नेपाल फाइनान्स रह्यो जसको २५ करोड २४ लाख शेयर कारोबार भएको छ ।  त्यस्तै, बिहिबार भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा सिटिजन म्युचुवल फन्ड-१ रह्यो जसको ११ लाख ९८ हजार कित्ता शेयर किनबेच भएको छ।