श्रीमती भेट्ने र सँगै घर फर्कने भन्दै निस्किएका सुमन झ्याप्लेखोलामै अस्ताए

२०८१ असोज १५ गते

श्रीमती भेट्ने र सँगै घर फर्कने भन्दै निस्किएका सुमन झ्याप्लेखोलामै अस्ताए

काठमाडौँ । मान्छेको जीवनको कुनै निश्चितता छैन। थाहा छैन कुन मोडमा कहाँ पुगेर जीवन समाप्त हुन्छ । यस्तै भयो चितवनका सुमन बजगाईंको हकमा । बेलायत अध्ययनको सपना बुनेर काठमाडौँमा बसेर पढिरहेकी सुमनको श्रीमती डिनिशा पोखरेल बजगाईंले सानो काखको छोरा हेर्न र भेट्न बोलाएपछि शुक्रबार बिहान रत्ननगर नरपालिका–१२ जमुनापुरका ३५ वर्षीय सुमन माइक्रो बस चढेर काठमाडौँ आउँदै थिए । तर उनलाई थाहा थिएन कि त्यो दिननै उनको जिन्दगीको अन्तिम दिन थियो । झ्याप्ले खोलामा गएको ठूलो पहिरोमा परी उनी चढेको बा ३ ख १३४५ नम्बरको माइक्रो पुरिँदा एकाएक उनी बीच बाटोमै अस्ताए । न श्रीमती भेट्न पाए नत काखको डेढ वर्षीय छोरा नै ।

सुमन चितवनमै कुखुरा पालन गरेर बसिरहेका थिए । उनी पोल्ट्री व्यवसायी थिए । श्रीमतीले आफ्नो जाँच भएको र सानो छोरा हेर्न आउन सहयोग मागेपछि सुमन दर्के झरीकै बीच घरबाट बुवा आमालाई भनेर निस्किएका थिए । बीच बाटोमा सुमनको चितवनमा रहेका आमा बुवा र श्रीमतीसँग सम्वाद भइरहेको थियो ।झ्याप्लेखोलाको पहिरोमा पर्नु अघिसम्म बाटोबाट उनी परिवारको सम्पर्कमै थिए ।

बेलायत जाने सपना साँचेर केही महिनादेखि काठमाडौँ बसेर परीक्षाको तयारी गरिरहेकी डिनिशा यतिखेर मुर्छित अवस्थामा छिन् । परीक्षाका लागि केही दिन श्रीमानसँगै बसेर चितवन फर्कने डिनिशा र सुमनको चाहना अधुरै रहन पुग्यो ।

५ वर्षअघि बिवाहबन्धनमा बाँधिएका सुमन र डिनिशाको डेढ वर्षका एक छोरा छन्। सुमनले रत्न नगरमा पोल्ट्रि व्यवसाय गर्दै आएका थिए ।

धादिङ र काठमाडौँको मध्य भागमा पर्ने झ्याप्ले खोलाको पहिरोमा परी २ वटा बस र २ वटा माइक्रो गरी चार सवारीसाधनबाट ३५ जनाको शव निकालिएको छ। हाल ती शवहरुको पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाउने काम भइरहेको छ ।