२०८१ वैशाख २५ गते
खुरकोट । राष्ट्रिय गौरवको रूपान्तरणकारी आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । सुरुङ निर्माण सम्पन्न भएपछि प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले भोली वैशाख २६ गते एक समारोहका बीचमा ब्रेक थ्रु गर्न लागेका छन् ।
नेपालको कृषि क्षेत्रमा भरपर्दो सिँचाइ, विद्युत् उत्पादन तथा तराई मधेशका जिल्लाहरूमा बढ्दो खानेपानीको समस्याको समाधान गर्नमा आयोजनाको निर्माणले ठूलो मद्दत पुग्ने विश्वास आयोजनाको लाभान्वित क्षेत्रका स्थानीय बासीको रहेको छ । अहिले बागमती सिँचाइ योजनाले सर्लाही तथा रौतहट जिल्लाका ४५ हजार ६०० सय हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ गर्ने गरिएको छ ।
निक्कै पहिलादेखि नै यस आयोजनाको माग हुँदै आएकोमा वर्तमान सरकारको निर्देशनमा आयोजनाले युद्ध स्तरमा काम गरेर आयोजनाको सुरुङ निर्माण समय भन्दा अगावै पुरा गरेको छ । आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न भएपछि मधेश प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहट तथा बारा जिल्लाका १ लाख २२ हजार हेक्टर कृषि योग्य भूमिमा बाह्रै महिना सिँचाइ सेवा पुग्ने भएको आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिए ।
मधेश प्रदेशको कृषि क्षेत्रका लागि बरदान मानिएका आयोजनाको सम्पूर्ण कार्य पुरा गर्नमा अझै केही वर्ष लाग्ने छ । सुरुङको निर्माण कठिन भएपनि निर्माण कम्पनीले पहिला नै काम सकेर देखाई दिएको आयोजनाका प्रमुख बरालले जानकारी दिनुभयो । आयोजनाको सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले गरेको छ ।
सुनकोसी मरिण डाइभर्सन आयोजना अन्तर्गत १३.३ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भएको छ । सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम) विधिको प्रयोग गरेर गरिएको छ । भेरी बबई डाइभर्सन आयोजनामा भएको सफलतापछि सुनकोसी मरिणमा पनि टिबिएम मेसिन प्रयोग गरिएको हो । उपकरणको प्रयोग गरी सुरुङ निर्माण गर्दा त्यसले सकारात्मक प्रभाव पारेका कारणले अन्य आयोजनामा त्यस्तै उपकरणको प्रयोग गर्नका लागि अभिप्रेरित गरेको छ । सुरुङ निर्माणसँगै बाँध निर्माणको कामलाई गति दिने काम भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आफै नियमितरुपमा आयोजनाका सन्दर्भमा चासो राख्दै आउनु भएकाले आयोजनाको काम गर्न सहज भएको आयोजनाले जनाएको छ । २०७९ साल असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनामा कूल १३.३ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भएको छ ।
तर बाँध तथा विद्युत् गृह निर्माणमा संलग्न निर्माण व्यवसायीले तोकिएअनुसार काम गर्न सकिएको छैन । निर्माण व्यवसायीले काम गरिरहेको भए पनि बाँध निर्माणमा अपेक्षित प्रगति भएको छैन । विद्युत् गृह र प्रसारण लाइन निर्माणका लागि आवश्यक तयारी भइरहेको छ । प्रसारण लाइनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भइसकेको छ । सुनकोसी मरिण डाइभर्सन आयोजनाबाट हाल सञ्चालनमा रहेको बिपी राजमार्गको केही भाग प्रभावित हुने भएकाले राजमार्गलाई नौ सय मिटर डाइभर्सन गर्नुपर्ने अवस्था रहेको छ । बाँध तथा विद्युत् गृह निर्माणका लागि भारतीय कम्पनी पटेल इञ्जिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनले संयुक्त ठेक्का पाएको छ ।

राष्ट्रिय गौरवको रूपान्तरणकारी आयोजना भएकाले स्रोतको कुनै अभाव नहुने प्रधानमन्त्री र ऊर्जामन्त्रीबाट प्रतिबद्धता आउने गरेकाले आफूहरूलाई काम गर्न सहज भएको आयोजना प्रमुख बरालले जानकारी दिए । सुनकोसी गाउँपालिका वडा नं. ७ कानढुङ्गीस्थित सिन्धुली र रामेछापको सिमाना भएर बग्ने सुनकोसी नदीलाई मरिण खोलामा पथान्तरण गरिनेछ ।
सुनकोसीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. २ कुसुमटारस्थित मरिण खोलामा खसालिने छ । त्यसपछि वाग्मती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने तथा खानेपानी आवश्यक भएको खण्डमा शुद्धीकरण गरेर मधेश प्रदेशका खानेपानी अभाव भएको ठाउँमा वितरण पनि गर्न सकिनेछ ।
बहुउद्देश्यीय आयोजना भएकाले आयोजनाबाट ३१.०७ मेगावाट बिजुली उत्पादन हुनेछ । यसले देशको आर्थिक विकासमा टेवा पुग्ने आशा आयोजनाको रहेको छ । बाँध र विद्युत् गृह निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको कथन रहेको छ । विसं २०८४ को असोजमा सो आयोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
आयोजना सम्पन्न भएपछि अन्न भण्डारका रुपमा रहेको मधेश प्रदेशका पाँच जिल्लामा वर्षभरि नै खेत खेतमा सिँचाइ सुविधा पुग्नेछ । यी जिल्लाहरूमा खाद्य तथा नगदे बालीको उत्पादन तथा उत्पादकत्वमा वृद्धि भएर मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने विश्वास आयोजनाको छ ।
रासस
प्रतिक्रिया