२०८१ वैशाख ०१ गते
काठमाडौँ । सरकारले सुन्तलालाई राष्ट्रिय फलका रूपमा घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले सुन्तलालाई राष्ट्रिय फलका रूपमा घोषणा गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी गराए । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले सुन्तलालाई राष्ट्रिय फल घोषणाका लागि मन्त्रीपरिषद्मा प्रस्ताव लागेका थिए । उनले आफू मन्त्रीमा नियुक्त भएको दिनदेखि सुन्तलालाई राष्ट्रिय फल घोषणा गराउनमा लागेको बताए ।
हालसम्म नेपालमा कुनै पनि फल राष्ट्रिय फलका रूपमा घोषणा भएको थिएन, के गर्ने भनी पहिलादेखि अध्ययन भइरहेको थियो, आफूले अब ढिलो गर्नुहुँदैन भनी सुन्तलालाई प्रस्तावका रूपमा मन्त्रीपरिषद्मा लगेर घोषणा गराएको बताए । आगामी आर्थिक वर्षको बजेटमा सुन्तलाका लागि विशेष कार्यक्रम राख्ने बताउँदै उनले सुन्तलालाई आत्मनिर्भर मात्र होइन, निर्यातको अवस्थामा पुर्याउने उनले बताए। कृषि मन्त्रालय अन्तर्गत राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रले अनुसन्धान गरी सुन्तलालाई राष्ट्रिय फल बनाउन मन्त्रालयमा प्रस्ताव गरेको थियो ।
नेपालमा फलफूलमा सबभन्दा बढी उत्पादन हुने सुन्तला हो र यो नेपालको रैथाने फल भएका कारण सरकारलाई प्रस्ताव गरेको राष्ट्रिय फलफूल विकास केन्द्रका प्रमुख शान्ता कार्कीले बताए । यस फलको आफ्नै मौलिकता छ, किसानलाई जीविकोपार्जनमा सहयोग पुर्याइरहेको, उत्पादनका आधारमा सबभन्दा बढी जिल्लामा यसको खेती, सबभन्दा पुरानो फल, पौष्टिक गुणलगायतका कारणले यसलाई राष्ट्रिय फलका लागि प्रस्ताव गरिएको उनले बताए ।
सुन्तला खेती ६६ जिल्लामा हुन्छ । त्यसमध्ये ५८ जिल्लामा सबभन्दा बढी हुन्छ भने ४८ जिल्लामा एक सयभन्दा बढी हेक्टरको बगैँचामा सुन्तलाको व्यावसायिक खेती हुने गरेको छ । देशभर २९ हजार हेक्टरमा लगाइएको खेतीबाट वार्षिक करिब दुई लाख मेट्रिक टन सुन्तला उत्पादन हुने गरेको कृषि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । स्याङ्जामा यसको सुपरजोन रहेको छ ।
देश सुन्तलामा आत्मनिर्भर छ तर त्यसको राम्रोसँग व्यवस्थापन नहुँदा केही आयात गर्नु परेको केन्द्रका प्रमुख कार्कीले बताए । उनले भने, “तीन चार महिना नेपालमै उत्पादन भएको सुन्तलाले पुग्दो रहेछ तर यसलाई राख्ने शीतभण्डारलगायत अन्य व्यवस्था नभएका कारण कतिपय अवस्थामा उत्पादन भएको सुन्तला पनि खेर जाने गरेको पाइन्छ ।” तिब्बत, बङ्गलादेशलगायत देशमा निर्यात हुने गरेको छ, चीनले पनि सुन्तला आयात गर्ने भनी सम्झौता गरेको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली सुन्तला मन पराएको छ तर नेपालबाट व्यवस्थित तरिकाले पठाउन नसकिएका कारण पर्याप्त मात्रामा निर्यात हुन नसकेको बताइएको छ ।
रासस
प्रतिक्रिया