ट्रम्पले इयु, मेक्सिको र क्यानाडाका उत्पादनहरुमा २५ प्रतिशत कर लगाउने

२०८१ फागुन १६ गते

ट्रम्पले इयु, मेक्सिको र क्यानाडाका उत्पादनहरुमा २५ प्रतिशत कर लगाउने

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले युरोपेली सङ्घ (इयु) बाट आउने कारहरू सहितका उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेको बताएका छन् । यसको घोषणा चाँडै नै हुने उनको भनाइ छ । कारसहित अन्य सबै कुरामा २५ प्रतिशत कर लगाउने बताए । अमेरिकाको युरोपेली सङ्घसँग करिब ३ सय अर्ब डलरको घाटा रहेको बताए । अमेरिकासँग उनीहरूले फरक तरिकाले फाइदा उठाएको भन्दै इयुले आफ्ना उत्पादनहरू स्वीकार नगरेको आरोप लगाए । इयुले मूलतः कृषि उत्पादनहरू स्वीकार नगर्ने उनको भनाइ छ ।

त्यसै गरी अमेरिकाले मेक्सिको तथा क्यानाडालाई मार्चबाट २५ प्रतिशत कर लगाउने भएको छ।  संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकन र क्यानेडियन सामानहरूमा प्रस्तावित २५ प्रतिशत कर मार्च ४ देखि लागू हुने बताएका छन्।

त्यसका साथै  चिनियाँ आयातमा थप १० प्रतिशत कर लगाउने धम्की दिएका छन् ।  ट्रम्पले बिहीबार आफ्नो ट्रुथ सोसल साइटको एक पोस्टमा दाबी गरे अनुसार चीनबाट अझै पनि अमेरिकामा फेन्टानिल ओपिओइड जस्ता घातक औषधिहरू आइरहेका कारण चीनमाथि फेब्रुवरीमा घोषणा गरेकोभन्दा थप १० प्रतिशत कर लगाउनु परेको बताएका छन् ।