उत्तरी नाकाबाट पहिलो पटक नेपाली सामाग्री तेस्रो मुलुकमा निर्यात

२०८० माघ १२ गते

उत्तरी नाकाबाट पहिलो पटक नेपाली सामाग्री तेस्रो मुलुकमा निर्यात

सिन्धुपाल्चोक । उत्तरी नाका भएर तेस्रो मुलुकमा पहिलो पटक नेपाली सामाग्री निर्यात भएको छ । ७२ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर आज सिन्धुपाल्चोक, तातोपानी नाका भएर जापानमा नेपाली सामाग्री निर्यात भएको हो ।भन्सार प्रमुख दयानन्द केसीका अनुसार चीन ट्रान्जिट भएर उत्तरी नाकाबाट नेपालकै इतिहासमा पहिलो पटक निर्यात सुरु भएको छ ।

हाललाई २४ सय बक्सा बाइबाई जिङ्ग चाउचाउ चीन भएर जापान निर्यात भएको भन्सार प्रमुख केसीले जानकारी दिए । त्यस्तै भियतनाममाबाट तातोपानी नाका नै भएर बेसार आयात भएको पनि उनले जानकारी दिए ।गत वैशाख १८ गतेबाट दुईतर्फी रुपमा नै नाका सञ्चालनमा आएपछि पछिल्लो पटक चीनबाट आयातमा वृद्धि भएको छ ।

तातोपानी भन्सार कार्यालयका अनुसार पछिल्ला दिनहरूमा दैनिक २५ कन्टेनर सामाग्री नेपाल भित्रिने गरेको छ । आयातमा वृद्धि भए पनि निर्यात भने ठप्प प्राय रहँदै आएको तातोपानी नाकाबाट तेस्रो मुलुकमा नै नेपाली सामाग्री निर्यात हुन थालेपछि भने नाका भएर निर्यातमा पनि वृद्धि हुने विश्वास गरिएको   छ ।