२०८१ जेठ ३२ गते
काठमाडौँ । वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् । प्रकाशित सूचना अनुसार बैंकहरुको ब्याजदर जेठ महिनाको तुलनामा सामान्य घटेको छ ।
जेठ महिनामा औषतमा ६.९९ प्रतिशतविन्दु रहेको २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर, असारमा घटेर ६.८७ प्रतिशतमा पुगेको छ। असार महिनाका लागि बैंकहरुको यस्तो निक्षेपको औषत ब्याजदर ०.१२ प्रतिशतले घटेको हो । त्यस्तै, बैंकहरुको संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.१२९ प्रतिशतले घटेको छ।
यस दिन नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका २० वाणिज्य बैंकहरुमध्ये ११ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन्। जसमध्ये ग्लोबल आइएमई बैंकले सर्वाधिक १ प्रतिशतविन्दु ब्याजदर घटाएको छ। जेठ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ७.५ प्रतिशत रहेको यस बैंकको ब्याजदर, असारमा घटेर ६.५ प्रतिशतमा झरेको छ। त्यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर पनि १ प्रतिशत घटेर ५.५ प्रतिशतमा झरेको छ।
जेठ महिनाको तुलनामा असारमा ३ बैंकहरुले ब्याजदर बढाएका छन्। ब्याजदर बढाउने बैंकहरुमा नबिल बैंक, माछापुच्छ्रे बैंक र हिमालयन बैंक रहेका छन्। जसमध्ये हिमालयन बैंकले सर्वाधिक ०.७५ प्रतिशतविन्दु ब्याजदर बढाएको छ। सो बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ८.२५ प्रतिशतका दरले ब्याज दिने भएको छ।
सबैभन्दा कम ब्याज दिने बैंक भने कृषि विकास बैंक नै रहेको छ। सो बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ५.६६१ प्रतिशत र संस्थागतमा ४.०१ प्रतिशतका दरले ब्याज दिनेछ। जेठ महिनामा पनि बैंकले सोही दरमा ब्याज दिइरहेको थियो।
प्रतिक्रिया