वायु सेवा कम्पनीले बुझाएको भाडादरको विषयमा अध्ययन हुँदै, बढी असुल्नेलाई कारबाही गर्ने तयारी

२०८१ मंसिर ०७ गते

वायु सेवा कम्पनीले बुझाएको भाडादरको विषयमा अध्ययन हुँदै, बढी असुल्नेलाई कारबाही गर्ने तयारी

काठमाडौ । पछिल्लो समय वायुसेवा कम्पनीहरुले अचाक्ली महंगोदरमा यात्रुबाट भाडा असुलेको गुनासो बढेपछि संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनीहरुसँग मागेको भाडादरको विषयमा मन्त्रालयमा अध्ययन शुरु भएको छ । भाडादरको विषयमा अध्ययन गर्न सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन भएको थियो । सो कार्यदलले बिहिबारबाटै अध्ययन थालेको मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले बताए ।

लामिछानेका अनुसार १४ वटा वायुसेवा कम्पनी तथा ट्राभल एजेन्सीहरुले भाडादर बुझाएका छन् । ती भाडादर यात्रु मैत्री छ वा छैन भन्ने विषयमा अध्ययन भइरहेको छ । बढी भाडा लिएको पाइएमा कारबाही गर्ने तयारी समेत भएको प्रवक्ता लामिछानेले बताए । कार्यदलले चारदिनभित्र अध्ययनको निष्कर्ष सरकारलाई दिनेछ । बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तराष्ट्र्रिय उडान भर्ने हवाइ कम्पनीहरुलाई २४ घण्टाभित्र हवाइ भाडादर उपलब्ध गराउन निर्देशन दिएका थिए। हवाई भाडाबृद्धिबारे गुनासो बढेपछि परराष्ट्र, श्रम र पर्यटनमन्त्रीबीच हवाई भाडा नियन्त्रणका लागि छलफल भएको थियो । एयरलाइन्सले चार गुणा बढी भाडा लिएको भन्दै चौतर्फी आलोचना भएको थियो ।