विगत नौ महिनामा आयात निर्यातमा गिरावट, वैदेशिक व्यापार २.९२ प्रतिशतले खुम्चियो

२०८१ वैशाख ०९ गते

विगत नौ महिनामा आयात निर्यातमा गिरावट, वैदेशिक व्यापार २.९२ प्रतिशतले खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ बराबरको आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात २.८४ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा १२ खर्ब १ अर्ब ५० करोड रुपैयाँ बराबर आयात भएको थियो ।

नेपालको आयातसँगै निर्यात पनि घटेको छ । यसै गरी यो अवधिमा नेपालबाट १ खर्ब १३ अर्ब ८४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निर्यात पनि ३.६६ प्रतिशतले घटेको हो । गत वर्ष चैतसम्ममा १ खर्ब १८ अर्ब रुपैयाँ बराबरको निर्यात भएको थियो ।

आयात र निर्यात नै घटेपछि समग्र वैदेशिक व्यापारमा समेत गिरावट आएको छ । तथ्यांकअनुसार नेपालको वैदेशिक व्यापार २.९२ प्रतिशतले खुम्चिएको छ । यो अवधिमा नेपालको वैदेशिक व्यापार १२ खर्ब ८१ अर्ब रुपैयाँ हुन आउँछ । जुन, गत वर्षको ९ महिनाको अवधिमा १३ खर्ब १९ अर्ब रुपैयाँ थियो ।