विकास बैंकहरुको रिपोर्ट कार्ड : ज्योति, कामना सेवा र गरिमाको नाफा बढ्यो अन्य पाँचको नाफा गुम्यो

२०८० माघ ०९ गते

विकास बैंकहरुको रिपोर्ट कार्ड : ज्योति, कामना सेवा र गरिमाको नाफा बढ्यो अन्य पाँचको नाफा गुम्यो

काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन् । राष्ट्रिय स्तरका ८ विकास बैंकमध्ये ३ वटाको नाफा बढ्दा बाँकी ५ वटाले नाफा घटाएका छन् । यी ८ बैंकको नाफा समग्रमा चालु आवको दोस्रो त्रैमासमा गत आवको समीक्षा अवधिभन्दा १०.९८ प्रतिशतले घटेको छ ।

विकास बैंकहरुले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार ज्योति, कामना सेवा र गरिमा विकास बैंकले मात्रै क्रमशः १९०.८४, ३२.१९ र २.०८ प्रतिशतले नाफा बढाएका छन् ।

महालक्ष्मी, शाईन रेसुङ्गा, लुम्बिनी, मुक्तिनाथ र सांग्रिलामा क्रमशः १२.०३, १३.६१, १८.६९, ३२.९३ र ३९.८२ प्रतिशतले नाफा घटाएका छन् । रकमका आधारमा गरिमा विकास बैंकले सबैभन्दा बढी ५१ करोड २५ लाख, मुक्तिनाथले ४२ करोड र शाईन रेसुङ्गाले ३७ करोड १२ लाख नाफा कमाएका छन् । सबैभन्दा कम सांग्रिला विकास बैंकले ६ महिनामा १० करोड २ लाख मात्रै नाफा कमाएको छ ।

प्रतिशतका आधारमा सबैभन्दा बढी नाफा बढाए पनि रकमका आधारमा ज्योति विकास बैंकले चालु आवको ६ महिनामा १० करोड १० लाख मात्रै नाफा कमाएका छ ।