वीरगञ्ज भन्सारद्वारा ६ महिनामा ७४ अर्ब ७४ करोड राजस्व असुली

२०८० माघ १९ गते

वीरगञ्ज भन्सारद्वारा ६ महिनामा ७४ अर्ब ७४ करोड राजस्व असुली

वीरगञ्ज । मुलुकको प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय आइसिपीले चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा ७४ अर्ब ७४ करोड ४७ लाख ८० हजार राजस्व असुली गरेको छ ।

अर्थ मन्त्रालय भन्सार विभागले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्त सम्मका लागि आइसिपी भन्सारलाई १ खर्ब २० अर्ब ७ करोड ६० लाख ६८ हजार राजस्व उठाउने लक्ष्य तोकेको भए पनि माल सामानको आयातमा यस आर्थिक वर्षमा समेत गिरावट आएसँगै चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्य अनुसारको राजस्व असुली प्रभावित भएको आइसिपी भन्सारका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिए । आइसिपी वीरगन्जले तोकिएको लक्ष्य भन्दा झण्डै ३८ प्रतिशत कम राजस्व असुली गरेको छ ।

अर्थ मन्त्रालयले तोको लक्ष्य भन्दा ६ महिना मा ४५ अर्ब ३३ करोड १२ लाख ८८ हजार कम राजस्व असुली भएको वीरगञ्ज भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी वीरगञ्ज भन्सार कार्यालयले भन्सार राजस्व तर्फ २७ अर्ब ७९ करोड ४ लाख ५७ हजार राजस्व असुली गरेको छ भने मूल्य अभिवृद्धि करतर्फ ३१ अर्ब ७४ करोड ९६ लाख ८१ हजार राजस्व असुली भएको छ ।

त्यसैगरी अन्त शुल्क तर्फ ५ अर्ब ४३ करोड ८९ लाख ७६ हजार असुली गरेको प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले बताए ।

त्यसैगरी वीरगञ्ज भन्सार कार्यालयले पूर्वाधार करतर्फ ६ अर्ब ३० करोड ९५ लाख ८६ हजार राजस्व उठाएको छ भने कृषि सुधार शुल्कतर्फ ६७ करोड ९० हजार असुली गरेको छ ।

यसैगरी वीरगञ्ज भन्सार कार्यालयले सडक मर्मत तथा सुधार दस्तुरतर्फ १ अर्ब ६५ करोड २१ लाख ८६ हजार राजस्व असुली गरेको छ भने सडक निर्माण तथा सम्भार दस्तुरमा ९७ करोड १३ लाख ६३ हजार राजस्व असुल गरेको वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।